बाढीले बगाएको शवबाट गहना निकाल्ने दुई जना पक्राउ
काठमाडौं । रसुवातर्फबाट त्रिशूली नदीमा आएको बाढीले बगाएर चितवन ल्याएको एक महिलाको शवबाट गहना चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
चितवन महानगरपालिका–१ स्थित पोखरा बसपार्कबाट नवलपरासीका २५ वर्षीय मदन गुरुङ र सुनसरीका ३८ वर्षीय उमेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बुधबार बिहान बाढीले बगाएर ल्याएको महिलाको शवबाट उनीहरूले कानमा लगाएको मुन्द्रा निकालिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो। भिडियोका आधारमा पहिचान गरी उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए।
विपद्का बेला मानवीय संवेदनामाथि प्रश्न
रसुवामा आएको ठूलो बाढीले बगाएका मानिस तथा संरचनाका अवशेष त्रिशूली नदी हुँदै तल्लो तटीय क्षेत्रमा पुगिरहेका छन्। विपद्को यस्तो संवेदनशील अवस्थामा उद्धार तथा शव व्यवस्थापनमा सुरक्षाकर्मी र स्थानीय तह जुटिरहेका बेला मृतकको शरीरबाट गहना निकालिएको घटनाले मानवीय संवेदनामाथि गम्भीर प्रश्न उठाएको छ।
प्रहरीले पक्राउ परेका दुवै जनामाथि घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ। उनीहरूले शवबाट गहना निकाल्नुको उद्देश्य तथा अन्य कुनै व्यक्ति संलग्न भए–नभएको विषयमा समेत अनुसन्धान अघि बढाइएको छ।
