प्रतिनिधि सभा निर्वाचनका लागि भारतबाट ५३८ सवारी साधन सहयोग
काठमाडौं । फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनको व्यवस्थापन र सुरक्षालाई सहज बनाउन भारत सरकारले नेपाललाई ५३८ वटा सवारी साधन उपलब्ध गराउने भएको छ। निर्वाचन आयोगका अनुसार तीमध्ये ३०० वटा गाडी नेपाल प्रहरीलाई प्रदान गरिनेछ भने बाँकी २३८ वटा विभिन्न सरकारी निकायको प्रयोगमा ल्याइनेछ।
आयोग स्रोतका अनुसार भारतीय पक्षले यसै सातादेखि गाडी नेपाल पठाउन सुरु गर्ने जानकारी दिएको छ। “माघको दोस्रो सातासम्म सबै गाडी नेपाल आइपुग्नेछ,” स्रोतले भन्यो, “निर्वाचन सुरक्षाका दृष्टिले यी सवारी साधन महत्वपूर्ण हुनेछन्।”
यसपटक भारतले उपलब्ध गराउने गाडीमध्ये करिब सय वटा विशेष प्रयोजनका हुने बताइएको छ। यसअघि २०७९ सालको निर्वाचनका क्रममा पनि भारतले निर्वाचन आयोगलाई ८० वटा सवारी साधन सहयोग गरेको थियो।
निर्वाचन सहयोगका विषयमा युरोपेली मुलुकहरूले संयुक्त राष्ट्रसंघीय निकायमार्फत् सहायता उपलब्ध गराउने संकेत गरेका छन्। यस्तै, जापानले भने प्रत्यक्ष आर्थिक सहयोग गर्ने तयारी गरेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। तर सहयोगलाई चुनावसँग प्रत्यक्ष रूपमा नजोडी अन्य शीर्षकअन्तर्गत सहयोग गर्ने योजना बनाइएको बताइएको छ।
निर्वाचनका लागि चीन सरकारसँग पनि सहयोग माग गर्दै पत्राचार गरिएको भए पनि हालसम्म कुनै औपचारिक प्रतिक्रिया नआएको स्रोतको भनाइ छ।
सरकारले फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगलाई ६ अर्ब ७४ करोड रुपैयाँ बजेट स्वीकृत गरिसकेको छ। साथै, नेपाल प्रहरीका लागि ७ अर्ब १३ करोड, सशस्त्र प्रहरी बलका लागि ८० करोड ८४ लाख र अन्य शीर्षकमा २ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरिएको छ।
