कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्न बेनीमा ‘खाना महोत्सव’
टुरिजमफेस
म्याग्दी । माघेसङ्क्रान्ति पर्वको अवसरमा आजदेखि जिल्ला सदरमुकाम बेनीमा खाना महोत्सव एवं कृषि मेला प्रदर्शनी सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिले यही आजदेखि माघ ३ गतेसम्म ११औँ माघेसङ्क्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रर्दशनी आयोजना गरेको हो ।
बेनीमा परम्परागत रूपमा लाग्ने माघेसङ्क्रान्ति मेलाको संरक्षण, पुस्तान्तरण तथा कला, संस्कृतिको प्रवर्द्धन गर्ने, स्थानीय खाना, कला, मौलिक संस्कृतिको संरक्षण र सम्वर्द्धन, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन, प्रतिभा पहिचानका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका सभापति अम्बिका श्रेष्ठले जानकारी दिए ।
स्थानीय उद्यमी, कृषक र औद्योगिक उत्पादनका ५० वटा कक्ष (स्टल) रहने महोत्सवमा खाना खाने, पेन्टिङ, लोक नृत्य, कृषि तथा पशुजन्य वस्तुको प्रदर्शनी, परम्परागत खेल, झाँकीको साथै कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहने उनले जानकारी दिए ।
महिला उद्यमीहरूबीच बच्चाको टोपी, दुनाटपरी र बाटेको धुप बनाउने प्रतियोगिता आयोजना गरिएको छ । कृषि विकास कार्यालयले फलफूल, तरकारी, खाद्यबाली र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले पशुपंक्षी प्रर्दशनी गर्ने भएका छन् ।
महोत्सवमा स्थानीय उत्पादनको निःशुल्क प्रदर्शनीको व्यवस्था मिलाएको जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए ।
महोत्सव सञ्चालनका लागि रु २१ लाख २५ हजार खर्च हुने अनुमान गरिएको छ । कक्ष भाडा, प्रायोजक र सहयोगमार्फत आर्थिक सहयोग जुटाएर निःशुल्क महोत्सव अवलोकनको व्यवस्था मिलाइएको महिला उद्यम विकास समितिका महासचिव प्रमिला जोशी श्रेष्ठले बताए ।
