विशेष महाधिवेशनको निष्कर्ष : कांग्रेसको नेतृत्व गगन थापाको हातमा, नयाँ कार्यसमितिको औपचारिक सुरुआत
काठमाडौं । लामो समयदेखि पार्टीभित्र चल्दै आएको नेतृत्व परिवर्तन र संरचनागत रुपान्तरणको बहसलाई अन्ततः नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले टुंग्याएको छ। काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनबाट गगन थापा निर्विरोध सभापति चयन भएसँगै कांग्रेसले नयाँ नेतृत्व युगमा प्रवेश गरेको संकेत दिएको छ।
निर्वाचन आयोगले सभापति थापासहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम सार्वजनिक गर्दै सबै पदमा निर्विरोध चयन भएको औपचारिक घोषणा गरेको हो। घोषणा लगत्तै सभापति थापाले शपथ ग्रहण गरेसँगै नयाँ केन्द्रीय नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको छ।
किन आयो विशेष महाधिवेशन ?
कांग्रेसभित्र अघिल्लो नेतृत्वको कार्यशैली, चुनावी असफलता र निर्णय प्रक्रियामा केन्द्रीकरण भएको आरोपसँगै विशेष महाधिवेशनको माग चर्किँदै आएको थियो। सभापति परिवर्तन र पार्टी रुपान्तरणको मुद्दा समाधान नहुँदा आन्तरिक द्वन्द्व विभाजनको तहमा पुगेपछि अन्ततः विशेष महाधिवेशन आयोजना गरिएको थियो।
त्यही पृष्ठभूमिमा युवापुस्ताको प्रतिनिधित्व गर्ने नेताका रूपमा चिनिएका गगन थापा नेतृत्वमा अघि आएका हुन्। थापाको निर्विरोध चयनलाई पार्टीभित्र परिवर्तनको साझा सहमति बनेको संकेतका रूपमा विश्लेषकहरूले हेरेका छन्।
नयाँ कार्यसमितिको संरचना
नयाँ केन्द्रीय कार्यसमितिमा उपसभापतिका रूपमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।
सहमहामन्त्रीतर्फ विविध समुदाय र क्षेत्रको प्रतिनिधित्व हुने गरी चयन गरिएको छ। महिलातर्फ डिला संग्रौला, दलिततर्फ प्रकाश रसाइली, आदिवासीतर्फ बहादुरसिंह लामा, खस–आर्यतर्फ उदय शम्शेर जबरा, मधेशीतर्फ मुक्ताकुमारी यादव, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा सहमहामन्त्री बनेका छन्।
आगामी चुनौती
नयाँ नेतृत्वका लागि पार्टी एकता मजबुत बनाउने, संगठन पुनर्जीवन गर्ने र आगामी निर्वाचनमा विश्वसनीय विकल्प प्रस्तुत गर्ने मुख्य चुनौती रहनेछ। विशेष महाधिवेशनले नेतृत्व परिवर्तनको ढोका खोले पनि त्यसलाई व्यवहारिक रुपान्तरणमा बदल्ने जिम्मेवारी अब गगन थापा नेतृत्वको काँधमा आएको छ।
