चुनाव हुन्छ की हुँदैन भनेर अन्योलतामा नबस्न संयोजक प्रचण्डको आग्रह
टुरिजमफेस
चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् ।
भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको आज उद्घाटन गर्दै संयोजक दाहालले निर्वाचनको विकल्प नरहेको बताए । उनले भने, “संविधानसभाको पहिलो निर्वाचनको समयमा पनि अघिल्लो दिनसम्म पनि चुनाव हुन्छ र भन्ने देशैभरी हल्ला थियो । तर चुनाव भयो ।”
राजनीतिक दल र जनता अघि बढीसकेकाले अब पनि चुनाव हुन्छ की हुँदैन भनेर अन्योलतामा नबस्न संयोजक दाहालले आग्रह गरेका छन् । निर्वाचनको अर्को विकल्प नरहेको उल्लेख गर्दै उनले निर्धारित समयमा निष्पक्ष रुपमा निर्वाचन गराउन सबै लाग्नुपर्नेमा जोड दिए ।
फरक प्रसङ्गमा संयोजक दाहालले नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचन के होला भन्ने प्रश्न जनतामा उठेको बताए । उनले भने “ठूलो पार्टी विभाजन हुनु राम्रो होइन् । सुखद समाचार होइन् । तर यसले निर्वाचनमा कुनै असर पर्दैन ।”
भरतपुर महानगरपालिकाले समानुपातिक रुपमा गरेको विकासका कारण यो महानगर देशको नमुना बन्न सकेको संयोजक दाहालले बताए । यहाँ भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारसँगै विभिन्न सांस्कृतिक समुदायको विकासमा समानुपातिक रुपमा गरिएको योगदानले नै यो सम्भव भएको उनको भनाइ थियो ।
सो अवसरमा महानगर प्रमुख रेनु दाहालले रु ५३ करोड ३२ लाखको लागतमा भवन निर्माण गरिएको जानकारी दिइन् ।
