निर्वाचनको सुरुआती दिनमै उच्च चासो, देशभर मनोनयनको चहलपहल
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया देशभर उल्लेखनीय रूपमा अघि बढेको छ। मनोनयनको पहिलो दिन नै मुख्य राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारसम्मको बाक्लो उपस्थितिले निर्वाचनप्रति जनचासो बढेको संकेत देखिएको छ।
निर्वाचन आयोगका अनुसार सोमबार साँझ ५ बजेसम्म २ हजार पाँच सय भन्दा बढीले विभिन्न निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराइसकेका छन्। आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले दुर्गम क्षेत्रका विवरण क्रमशः प्राप्त भइरहेकाले उम्मेदवारको संख्या अझै बढ्ने बताए। “यो प्रारम्भिक तथ्याङ्क हो, सबै कार्यालयको विवरण समावेश भएपछि संख्या बढ्नेछ,” उनले जानकारी दिए।
देशभरका १६५ निर्वाचन क्षेत्रमा बिहानदेखि नै उम्मेदवारहरू समर्थकसहित बाजागाजा, नाराबाजी र जुलुससाथ निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। आयोगले साँझ ५ बजेसम्म कार्यालय प्रवेश गरेका सबैलाई मनोनयन दर्ताको समय उपलब्ध गराएकाले अन्तिम विवरण रातिसम्म मात्र यकिन हुने जनाएको छ।
केही जिल्लामा सामान्य विवाद र झडपका घटना देखिए पनि समग्र मनोनयन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगको भनाइ छ। अब निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारीमाथि दाबी–विरोध, उजुरी दर्ता तथा अन्तिम नामावली प्रकाशनका चरण अघि बढाइनेछ।
पहिलो दिनकै चहलपहल र ठूलो संख्यामा उम्मेदवारी दर्ता हुनु यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक र रोचक हुने संकेतका रूपमा हेरिएको छ।
