माघीको रौनकमा जीवित संस्कृति : थारु बस्ती पर्यटनको आकर्षण बन्दै
कञ्चनपुर । माघी पर्वसँगै थारु बस्तीमा देखिने सांस्कृतिक चहलपहल अहिले आन्तरिक पर्यटनका लागि नयाँ आकर्षण बन्दै गएको छ। मघौटा नाच, सामूहिक छलफल र परम्परागत नेतृत्व चयन प्रक्रियाले थारु समुदायको जीवनशैलीलाई नजिकबाट बुझ्ने अवसर दिएको छ।
बेदकोट नगरपालिका–७ मन्दिरपुर र वडा नं ८ भासीमा माघीपछि सुरु हुने ‘खोजनी–भोजनी’ परम्परा अहिले पाहुनाका लागि पनि चासोको विषय बनेको छ। वर्षभरिका कामको समीक्षा, आगामी योजना निर्माण र बडघर, लेखनदास तथा चौकीदार चयन गर्ने यो प्रक्रिया थारु समुदायको मौलिक शासन प्रणालीको जीवन्त उदाहरण हो।
गाउँका सबै घरबाट सहभागी भई खुला छलफल गर्नु, सामूहिक सहमतिमा नेतृत्व चयन गर्नु र त्यसपछि मघौटा नाचमा रमाउनु—यी दृश्यले गाउँलाई खुला सांस्कृतिक संग्रहालय जस्तै बनाएको थियो। पर्यटकका लागि यो केवल उत्सव मात्र होइन, समुदाय–आधारित जीवनशैली बुझ्ने अवसर पनि हो।
मन्दिरपुरमा ४२ वर्षीय प्रेम डगौंरालाई छैटौँ पटक बडघरका रूपमा निरन्तरता दिइँदा गाउँलेको एकमत र विश्वास झल्किन्थ्यो। बडघरको भूमिकाले विवाह, ब्रतबन्ध, भोजभतेरदेखि सामाजिक समन्वयसम्म समेट्ने भएकाले यो पद थारु समुदायको सामाजिक मेरुदण्ड मानिन्छ।
भासी गाउँमा पनि बडघर चयनसँगै मघौटा नृत्यको विशेष प्रस्तुति भयो। मादलको तालमा महिला–पुरुष पालैपालो नाच्दा पूरै बस्ती उत्सवमय देखिन्थ्यो। यस्ता नृत्य र गीत पर्यटकका लागि थारु संस्कृति बुझ्ने प्रत्यक्ष माध्यम बन्दै गएका छन्।
स्थानीयहरूका अनुसार बडघर परम्परा र माघी उत्सवलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके थारु बस्ती सांस्कृतिक पर्यटनको गन्तव्य बन्न सक्छ। होमस्टे, परम्परागत खानपान र सांस्कृतिक कार्यक्रमसँग जोडिएमा यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटक तान्ने सम्भावना रहेको उनीहरूको विश्वास छ।
माघीको बहानामा जीवित परम्परा, सामूहिक निर्णय र नाच–गानको संगम देख्न चाहनेका लागि यतिबेला थारु बस्ती आफैंमा एउटा खुला पर्यटन अनुभव बनेको छ।
