नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहनेछ : जापानी राजदूत
काठमाडौँ । नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास प्रयासमा जापानको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ तथा जाइका अलमनाई एसोसिएसन नेपाल (जान) को ५२औँ वार्षिक समारोहका अवसरमा शनिबार आयोजित कार्यक्रममा राजदूत माएदाले नेपाललाई प्राविधिक सहयोग, मानव संसाधन विकास, शिक्षा, सञ्चार, सडक तथा कृषि क्षेत्रमा नेपालीको आवश्यकता र चाहनाअनुसार जापानले सहयोग गर्दै आइरहेको र भविष्यमा पनि यो निरन्तर रहने बताए।
द्विपक्षीय सम्बन्ध सुदृढ गर्न जानले पुर्याएको योगदानप्रति आभार व्यक्त गर्दै उनले भविष्यमा नेपाल–जापान सम्बन्धलाई अझ मजबुत र दिगो बनाउन निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गरे।
“आपसी संस्कार र संस्कृतिको प्रवर्द्धनमा जानले पुर्याएको योगदान प्रशंसनीय छ। आगामी दिनमा नेपाल–जापान सम्बन्ध थप विस्तार गर्न जानबाट अझ सक्रिय भूमिका अपेक्षित छ,” उनले भने।
राजदूत माएदाले वर्तमान सन्दर्भमा जानको सदस्यता विस्तारका लागि नवयुवालाई प्रोत्साहित गर्नसमेत आग्रह गरे।
कार्यक्रममा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपाल–जापान सम्बन्ध सुदृढ गर्न जानले खेलेको भूमिकाको प्रशंसा गर्दै निरन्तर सहकार्यको आवश्यकता औँल्याए।
उनले जाइकाले पछिल्ला चार दशकदेखि नेपालको आर्थिक विकास, शान्ति, समृद्धि र दिगो विकासका लागि शिक्षा, स्वास्थ्य, ऊर्जा, सुशासन, यातायात, कृषि, जनशक्ति विकास तथा पूर्वाधारसहित २१ वटा क्षेत्रमा सहयोग गर्दै आइरहेको जानकारी दिए।
दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिँदै प्रमुख प्रतिनिधि मात्सुजाकीले आगामी दिनमा पनि जापानी सहयोग निरन्तर रहने वचनबद्धता व्यक्त गरे।
जानका अध्यक्ष डा. रामचन्द्र भुसालले जापान नेपालका लागि निःस्वार्थ, भरपर्दो र दिगो सहयोग गर्ने असल मित्रका रूपमा स्थापित भएको बताए। उनले नेपाल–जापान सम्बन्ध सुदृढ गर्न जानका कार्यक्रम केन्द्रित रहेको उल्लेख गरे।
अध्यक्ष भुसालले नेपालको सामुदायिक विकास, भूकम्पलगायत प्राकृतिक विपत्तिका बेला तथा आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा जापानले पुर्याएको सहयोगप्रति आभार प्रकट गरे।
त्यसैगरी, जानका उपाध्यक्ष किरण रुपाखेतीले जापानको ज्ञान, अनुशासन, कार्य संस्कृति र विकास दर्शनबाट प्रशिक्षित विज्ञहरूको सशक्त सञ्जालका रूपमा जानले पाँच दशकभन्दा बढी समयदेखि काम गर्दै आएको बताए। उनले जान नेपाल र जापानबीच जीवन्त, दिगो र भरोसायोग्य सेतुका रूपमा स्थापित हुँदै आएको उल्लेख गरे। (रासस)
