यस्तो छ राष्ट्रिय सभाको अन्तिम परिणाम
काठमाडौं । राष्ट्रिय सभाका १८ सदस्य चयनका लागि आज भएको निर्वाचन अपेक्षाकृत शान्त र उच्च सहभागितासहित सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार कुल ९५.६८ प्रतिशत मत खसेको छ, जुन पछिल्ला निर्वाचनहरूमध्ये उल्लेख्य मानिएको छ।
यद्यपि, सबै दल निर्वाचन प्रक्रियामा सहभागी भएनन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि मतदानमा अनुपस्थित रहे। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई प्राथमिकता दिँदै राष्ट्रिय सभा निर्वाचनमा सहभागी नहुने निर्णय गरिएको हो।
केही अन्य दलका सांसद र स्थानीय तहका प्रतिनिधि पनि मतदानमा सहभागी भएनन्। तर प्रमुख राजनीतिक शक्तिहरूबीचको पूर्व–तालमेलका कारण निर्वाचन परिणाम अनुमानित नै रह्यो।
तालमेलको असर, नतिजा पनि त्यही अनुसार
नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच भएको सहमतिले राष्ट्रिय सभा निर्वाचनको चित्र स्पष्ट बनाएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काको कार्यकालमा भएको सहमतिअनुसार १८ सिटमध्ये कांग्रेसले ९, एमालेले ८ र लोसपाले १ सिटमा उम्मेदवारी दिएका थिए।
त्यही सहमतिअनुसार तीनै दलका उम्मेदवार विजयी भएका छन्। अन्य दलका उम्मेदवार विजयी हुन सकेनन्।
राष्ट्रिय सभामा कुल १९ सिट रिक्त हुने व्यवस्था भए पनि एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने भएकाले आज १८ पदका लागि मात्रै निर्वाचन भएको हो। बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भई मतगणनापछि परिणाम सार्वजनिक गरिएको थियो।
प्रदेशअनुसार निर्वाचित सदस्यहरू
कोशी प्रदेश
-
सुनिलबहादुर थापा (नेपाली कांग्रेस) – निर्विरोध
-
रोशनी मेचे (नेकपा एमाले)
-
सोमनाथ पोर्तेल (नेकपा एमाले)
मधेस प्रदेश
-
धमेन्द्र पासवान (नेपाली कांग्रेस)
-
रञ्जित कर्ण (नेपाली कांग्रेस)
-
महन्थ ठाकुर (लोसपा)
-
रेखाकुमारी झा (नेकपा एमाले)
बागमती प्रदेश
-
गीता देवकोटा (नेपाली कांग्रेस)
-
प्रेमप्रसाद दंगाल (नेकपा एमाले)
गण्डकी प्रदेश
-
सम्झना देवकोटा (नेकपा एमाले)
-
जगत तिमिल्सिना (नेपाली कांग्रेस)
लुम्बिनी प्रदेश
-
बासुदेव जंगली (नेपाली कांग्रेस)
-
चन्द्रबहादुर केसी (नेपाली कांग्रेस)
-
रामकुमारी झाक्री (नेकपा एमाले)
कर्णाली प्रदेश
-
ललितजंग शाही (नेपाली कांग्रेस)
-
मीनासिंह रखाल (नेकपा एमाले)
सुदूरपश्चिम प्रदेश
-
लीलाकुमारी भण्डारी (नेकपा एमाले)
-
खम्मबहादुर खाती (नेपाली कांग्रेस)
