काठमाडौं । भारतको महाराष्ट्र राज्यमा हवाई दुर्घटना भएको छ। बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा एक निजी चार्टर्ड विमान दुर्घटनामा परेपछि विमानमा आगलागी भई पूर्ण रूपमा ध्वस्त भएको हो। दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको ज्यान गएको पुष्टि भएको छ।
बीबीसीका अनुसार बारामतीमा अवतरण गर्न खोज्दा विमान रनवे नियन्त्रणबाहिर गएको थियो। भुइँमा ठोक्किएलगत्तै विमानमा भीषण आगलागी भएको र केही क्षणमै टुक्रा–टुक्रा भएर जलेको जनाइएको छ। विमानमा सवार पाँचै जनाको घटनास्थलमै मृत्यु भएको आशंका गरिएको भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले जनाएको छ।
जिल्ला परिषद् निर्वाचनसम्बन्धी कार्यक्रमका लागि बारामतीतर्फ गइरहेको उक्त विमान ‘क्र्यास ल्यान्डिङ’को प्रयासकै क्रममा दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ।
दुर्घटनापछि सार्वजनिक भएका तस्बिर तथा भिडियोमा विमानका अवशेष चारैतिर छरिएको, बाक्लो धुवाँ आकाशमा फैलिएको र आगो निभाउन दमकल परिचालन गरिएको देखिन्छ।
विमानमा उपमुख्यमन्त्री पवारसँगै उनका निजी सहायक, सुरक्षाकर्मी र चालक दलका सदस्यहरू सवार थिए। स्थानीय प्रशासनले घटनास्थलमा तत्काल उद्धार टोली र स्वास्थ्यकर्मी परिचालन गरेको भए पनि आगलागीका कारण कसैलाई जीवित उद्धार गर्न नसकिएको बताइएको छ।
दुर्घटनाको कारण प्राविधिक खराबी, मौसम अवस्था वा रनवेको अवस्थासँग सम्बन्धित हो कि भन्ने विषयमा विस्तृत छानबिन सुरु गरिएको भारतीय अधिकारीहरूले जनाएका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।