अमेरिकी ‘पब्लिक चार्ज’ नीतिपछि कडा सन्देश सरकारी सहुलियत लिने नेपालीको ग्रिनकार्ड जोखिममा, दूतावासको सतर्कता अपिल
फाइल तस्विर
वासिङ्टन । अमेरिकामा आप्रवासनसम्बन्धी नीति थप कडा बन्दै गएपछि बसोबास गरिरहेका नेपालीहरूलाई कानुन पालना र विधिसम्मत गतिविधिमा सतर्क रहन वासिङ्टनस्थित नेपाली राजदूतावासले चेतावनीसहित अपिल गरेको छ।
अमेरिकी सरकारले पछिल्ला वर्षहरूमा ‘पब्लिक चार्ज’ नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न थालेपछि गैर–नागरिकहरूले सरकारी सहुलियत लिएको पाइएमा भिसा तथा ग्रिनकार्डसमेत रद्द हुन सक्ने जोखिम बढेको दूतावासले जनाएको छ।
दूतावासद्वारा बिहीबार जारी सार्वजनिक सूचनामा अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा पारिवारिक भेटघाटका उद्देश्यले अमेरिकामा रहेका विदेशी नागरिक—विशेषगरी नेपालीहरूले गलत विवरण पेस गरी वा अवैधानिक रूपमा अमेरिकी नागरिकका लागि लक्षित सहुलियत प्रयोग नगर्न आग्रह गरिएको छ।
सूचनामा उल्लेख गरिएअनुसार स्वास्थ्योपचार, आवास, परिवार सहायता तथा शैक्षिक सहयोगजस्ता सरकारी सहुलियतमा निर्भर भएको पुष्टि भएमा सम्बन्धित व्यक्तिको आप्रवासन हैसियतमा प्रत्यक्ष असर पर्ने अमेरिकी अधिकारीहरूबाट जानकारी प्राप्त भएको दूतावासले जनाएको छ।
२०२४ को तथ्याङ्कले बढायो चिन्ता
दूतावासले सार्वजनिक गरेको सूचनामा सन् २०२४ मा नेपाली नागरिकहरू अमेरिकी सरकारी सहुलियत लिनेहरूको सूचीमा माथिल्लो स्थानमा परेको तथ्यसमेत स्मरण गराइएको छ। यही कारण देखाउँदै अमेरिकी सरकारले नेपाली नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा बन्द गरेको विषय पनि उल्लेख गरिएको छ।
यस सन्दर्भमा दूतावासले अमेरिकामा रहेका नेपालीहरूलाई गैरकानुनी तरिकाबाट वा गलत जानकारी दिएर कुनै पनि किसिमको सरकारी सहायता नलिन विशेष अनुरोध गरेको छ।
बी–१ र बी–२ भिसाको दुरुपयोग नगर्न आग्रह
राजदूतावासले व्यापारिक तथा पर्यटकीय प्रयोजनका लागि जारी गरिने ‘बी–१’ र ‘बी–२’ भिसाको दुरुपयोग नगर्न पनि ध्यानाकर्षण गराएको छ। पछिल्ला दिनमा अमेरिकी सरकारले विभिन्न श्रेणीका भिसामा कडा मापदण्ड र अतिरिक्त जाँच प्रक्रिया लागू गर्दै गएको पृष्ठभूमिमा यो चेतावनी आएको हो।
दूतावासले अमेरिकामा रहेका सबै नेपालीलाई स्थानीय कानुनको पूर्ण पालना गर्दै आफ्नो भिसा सर्तअनुसार मात्र गतिविधि गर्न अनुरोध गर्दै सम्भावित कानुनी जोखिमबाट जोगिन सचेत रहन आग्रह गरेको छ। एजेन्सीको सहयोगमा
फाइल तस्विर
