बागलुङमा झण्डै २७ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङ जिल्लामा झण्डै २७ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ। सुन्तलाखेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ।
कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लामा २६ करोड ९० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४४ लाख रुपैयाँले बढी हो। गत वर्ष जिल्लामा २६ करोड ४६ लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो।
यस वर्ष औसा किराको प्रकोप कम हुँदा र मौसम अनुकूल रहेकाले सुन्तलाका बोट सुरक्षित रहँदा उत्पादन बढेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख कुमार पुन मगरले जानकारी दिए।
उनका अनुसार पछिल्लो समय बाँझो तथा कम उपयोग भएका खेतबारीमा समेत सुन्तलाखेती विस्तार हुन थालेको छ। बसाइँसराइका कारण रित्तिँदै गएका गाउँमा पनि सुन्तला उत्पादनले कृषकलाई आकर्षित गरेको उनले बताए।
पहिले कोदो, मकै, गहुँ, फापरजस्ता खाद्य बाली लगाइने बारीमा अहिले सुन्तलाका बोट रोप्न थालिएको प्रमुख पुन मगरको भनाइ छ। कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले कृषकहरू सुन्तलाखेतीतर्फ आकर्षित हुँदै गएका छन्।
यस वर्ष जिल्लामा चार हजार १६९ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। कृषकहरूले सुन्तला न्यूनतम प्रतिकिलो ६५ रुपैयाँमा बिक्री गरेका छन्।
सुन्तलाखेतीको क्षेत्रफल पनि बर्सेनि बढ्दै गएको छ। विसं २०७६ मा ५८५ हेक्टर क्षेत्रफलमा सीमित रहेको सुन्तलाखेती हाल ६६४ हेक्टर पुगेको छ। अहिले ३८१ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
जिल्लाको काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको सिगाना, तित्याङ, भकुण्डे, जैमिनी नगरपालिकाको बिनामारे र दमेक क्षेत्र सुन्तला उत्पादनका प्रमुख केन्द्रका रूपमा चिनिएका छन्।
काठेखोला गाउँपालिका–६ का किसान पशुपति कँडेलले अघिल्लो वर्ष ६ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेकोमा यस वर्ष उत्पादन बढेपछि ८ लाख रुपैयाँमा बगान नै व्यापारीलाई बिक्री गरेको बताए। समयमै वर्षा हुँदा उत्पादन राम्रो भएको उनको भनाइ छ।
उही गाउँका अर्का किसान लोकनाथ कँडेलले गत वर्ष १३ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेकोमा यस वर्ष १५ लाख रुपैयाँ आम्दानी भएको जानकारी दिए। फल दिने बोटको संख्या बढ्नु र मौसमले साथ दिनुले उत्पादन वृद्धि भएको उनले बताए। रासस
