त्रिविले प्रदेशमै परीक्षा सञ्चालन गर्ने प्रक्रिया अघि बढायो
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले लामो समयदेखि बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमै केन्द्रित रहेको परीक्षा प्रणालीलाई क्रमशः प्रदेशस्तरमा विस्तार गर्ने प्रक्रिया सुरु गरेको छ। यससँगै विश्वविद्यालयको परीक्षा व्यवस्थापन अब केन्द्रमुखी नहुने संकेत देखिएको छ।
देशभरका विद्यार्थीले आफ्नै प्रदेशबाट परीक्षा दिन पाउनुपर्ने माग गर्दै आएको सन्दर्भमा पछिल्लो समय स्वतन्त्र विद्यार्थी युनियनले परीक्षा नियन्त्रण कार्यालय परिसरमा धर्ना दिएका थिए। सोही आन्दोलनपछि विश्वविद्यालय प्रशासन र विद्यार्थी प्रतिनिधिबीच सहमति जुटेपछि परीक्षा प्रणाली विकेन्द्रीकरणतर्फ कदम चालिएको हो।
यसै क्रममा काठमाडौँमा माघ १८ गतेदेखि सञ्चालन हुने भनिएको तीन वर्षे स्नातक तहको मौका परीक्षा अब माघ २५ गतेदेखि सम्बन्धित प्रदेशमै सञ्चालन गरिने व्यवस्था मिलाइएको छ। विश्वविद्यालयले सूचना जारी गर्दै क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयअन्तर्गत न्यूनतम एक परीक्षा केन्द्र रहने गरी परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ।
मानविकी तथा सामाजिक शास्त्र, शिक्षा, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका विद्यार्थीहरूले आंशिक तथा मौका परीक्षा प्रदेशमै दिन पाउनेछन्। काठमाडौँमा परीक्षा दिन आउँदा विद्यार्थीलाई पर्ने आर्थिक बोझ र यात्राजन्य कठिनाइलाई ध्यानमा राखेर यो निर्णय गरिएको विश्वविद्यालयले जनाएको छ।
परीक्षा नियन्त्रक लक्ष्मण पौडेलका अनुसार परीक्षा प्रणालीलाई क्रमशः विकेन्द्रित र प्रविधिमैत्री बनाउने विश्वविद्यालयको योजना रहेको छ। “तीन वर्षे स्नातक मात्र होइन, अन्य तहका परीक्षाहरू पनि सम्भव भएसम्म प्रदेशबाटै सञ्चालन गर्ने तयारीमा छौँ,” उनले बताए।
यसैबीच त्रिवि स्वतन्त्र विद्यार्थी युनियनका सभापति दीपकराज जोशीले विद्यार्थीहरूसँग भएको सहमतिअनुसार परीक्षा प्रणाली सुधारको काम अपेक्षाकृत ढिलो भए पनि अहिले सुरु भएको कदमलाई सकारात्मक रूपमा लिनुपर्ने बताए।
