अनुशासित भएर समाज र राष्ट्रको सेवामा लाग्न युवालाई प्रधानमन्त्रीको आग्रह
टुरिजमफेस
नवलपरासी । प्रधानमन्त्री सुशीला कार्कीले आनुशासित भएर समाज र राष्ट्रको सेवामा लाग्न युवालाई आग्रह गरेकी छिन् ।
नेपाली सेना अन्तर्गतको राष्ट्रिय सेवा दल मध्यतालिम शिक्षालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हात्तिखोरमा सञ्चालित २०औँ ब्याच सिनियर डिभिजन एनसीसी तालिमको अन्तिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले उन्नत समाज निर्माणका लागि युवाको सहभागिता र नेतृत्वदायी भूमिका समाजमा थप प्रभावकारी हुने बताइन् ।
“युवालाई विशेषरूपमा आग्रह र अनुरोध गर्न चाहन्छु की अनुशासनलाई जीवन शैली बनाउनु होस, कर्तव्य पालना र मर्यादालाई जीवन, पढाइ तथा दैनिक सेवामा निरन्तर अभ्यास गरिदिनुहोस, राष्ट्र प्रेमलाई कर्ममा उतार्नुहोस”, प्रधानमन्त्री कार्कीले भनिन्, “व्यवहारमै इमान्दार, कर्तव्य निष्ठ र जिम्मेवार नागरिकको रूपमा आफूलाई प्रस्तुत गर्नुहोस । राष्ट्रिय एकता सामाजिक सद्भाव मजबुत बनाउनुहोस । विविध भाषा संस्कृति, जात जातिसहितको विविधतालाई सम्मान गर्दै म नेपाली हुँ भन्ने भावनालाई आत्मसात् गर्नुहोस ।”
राष्ट्रिय सेवा दलमार्फत हरेक वर्ष प्रशिक्षित हुने विद्यार्थीको सङख्या आगामी वर्षदेखि वृद्धि गर्न प्राथमिकता दिइने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले युवालाई कर्तव्य पालना र अनुशासन सिकाउन तालिम फलदायी भएको बताइन् ।
