हिमालयन ह्वाइटवाटर च्यालेञ्ज फागुन १४ देखि, नेपालको नदीजन्य खेललाई पर्यटन छविका रूपमा स्थापित गर्ने तयारी
टुरिजमफेस
काठमाडौं । आगामी फागुन १४ देखि १६ गतेसम्म ‘२४औँ हिमालयन ह्वाइटवाटर च्यालेञ्ज, २०२६ तथा ‘५०औँ अन्तरराष्ट्रिय ह्वाइटवाटर र्याफ्टिङ र कायाकिङ महोत्सव’ आयोजना हुने भएको छ ।
नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) ले नेपाल पर्यटन बोर्डको सहकार्यमा महोत्सव आयोजना गर्ने भएको हो । अजा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा ३० अन्तरराष्ट्रिय र १४० राष्ट्रिय खेलाडी सहभागी हुने जानकारी दिइयो ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले बोर्ड लामो समयदेखि ह्वाइटवाटर शृङ्खलासँग जोडिँदै आएको उल्लेख गर्दै विगतका शृङ्खलामा देखिएका कमजोरी सच्याउँदै यसपटक नदीजन्य साहसिक खेललाई नेपालको सशक्त पर्यटन छविका रूपमा स्थापित गर्ने तयारी गरिएको जानकारी दिए । “सगरमाथा र हिमाललाई मात्र होइन, र्याफ्टिङ, कायाकिङ र कनोइङजस्ता नदीमा आधारित साहसिक गतिविधिलाई पनि अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्नुपर्नेछ”, ऐरले भने, “यसका लागि हाम्रा नदीहरुको संरक्षणमा पनि जोड दिन आवश्यक छ ।”
बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पनि जलविद्युत् आयोजना र नदीजन्य उत्खननका कारण नदीमा हुने साहसिक खेल गतिविधिमा असर परिरहेको बताए । उनले सरकारले जलविद्युत् आयोजना निर्माण र पर्यटनका लागि नदी पहिचान गरी र्याफ्टिङलगायतका साहसिक खेल गतिविधि गर्नुपर्नेमा जोड दिए ।
नाराका अध्यक्ष कमलबहादुर ठकुरीले २४औँ हिमालयन ह्वाइटवाटर च्यालेञ्ज र महोत्सव केबल प्रतियोगिता मात्र नभएर नेपालको ५०औँ जलयात्रा इतिहासको उत्सव भएको बताए ।
महोत्सवअन्तर्गत कायाकिङतर्फ दुई र र्याफ्टिङतर्फ एक गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ । जसमा पहिलो दिन १०० भन्दाबढी कायकरबीच प्रतिष्पर्धा हुनेछ भने दोस्रो दिन नकआउट चरणमा खेल खेलाइनेछ । साथै तेस्रो दिन ¥याफ्ट सेसन सञ्चालन हुनेछ । कार्यक्रममा र्याफ्टिङको व्यावसायिक सुरुआत गर्ने हिमालयन रिभर एक्सप्लोरेशनका संस्थापकलाई विशेष सम्मान गरिनेसमेत आयोजकले जनाएको छ ।
नेपालमा र्याफ्टिङको इतिहास सन् १९६० को दशकबाट सुरु भएको मानिन्छ । सन् १९६४ मा फ्रान्सेली टोलीले त्रिशूली र १९६५ मा सर एडमण्ड हिलारीको टोलीले सुनकोसीमा गरेको जलयात्रा महत्वपूर्ण कोशेढुङ्गा बनेका थिए । सन् १९७५ मा हिमालयन रिभर एक्सपोलेशनमार्फत व्यावसायिक र्याफ्टिङ औपचारिक रूपमा सुरु भएको थियो । नाराको स्थापना विसं २०४६ मा स्थापना भएको हो ।
