टि–२० विश्वकपबाट बाहिरियो नेपाल
मुम्बई — समूह ‘सी’ अन्तर्गत लगातार तेस्रो हार बेहोरेसँगै नेपाली क्रिकेट टोलीको विश्वकप यात्रा टुंगिएको छ। भारतको मुम्बईमा भएको खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएपछि नेपाल सुपर–८ मा पुग्ने सम्भावना समाप्त भएको हो।
नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमै एक विकेटको क्षतिमा भेट्टायो। टस जितेर बलिङ रोजेको वेस्ट इन्डिजविरुद्ध नेपालले ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो। सुरुवात कमजोर भए पनि दीपेन्द्रसिंह ऐरीले ५८ रनको अर्धशतक प्रहार गर्दै इनिङ सम्हाले। ४७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे। टी–२० विश्वकपमा नेपालका लागि यो दोस्रो अर्धशतक हो। यसअघि सन् २०१४ मा सुवास खकुरेलले अर्धशतक बनाएका थिए।
