चुनावलक्षित प्रचारप्रसार सुरु
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै औपचारिक चुनावी प्रचार–प्रसार सुरु भएको छ। निर्वाचन तालिकाअनुसार मतदान मितिभन्दा १५ दिनअघि मात्र जुलुस, आमसभा, कोणसभा तथा सञ्चारमाध्यममार्फत प्रचार गर्न पाइने प्रावधान छ।
यसै व्यवस्थाअनुसार फागुन ४ गतेदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले मतदातासमक्ष आफ्ना एजेन्डा राख्दै मत माग्न सक्नेछन्। निर्वाचन आयोगले आचारसंहिताको पूर्ण पालना गर्दै मात्र प्रचार गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ।
तोकिएको मापदण्डभित्र रहेर दल तथा उम्मेदवारहरूले पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापन प्रकाशन वा प्रसारण गर्न पाउनेछन्। आमसभा वा कोणसभाका लागि मञ्च व्यवस्थापनमा भएको खर्चको विवरण भने सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा अनिवार्य बुझाउनुपर्नेछ।
आयोगले आचारसंहिता कार्यान्वयन र अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिसकेको जनाएको छ। उल्लङ्घनको आशंका भएमा स्पष्टीकरण सोध्ने, आवश्यक परे कानुनी कारबाही अघि बढाउने व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ। आचारसंहिता राजनीतिक दल र सरोकारवालासँग परामर्श गरी तयार पारिएको स्मरण गराउँदै सबै दलहरूले यसको पालना गर्ने प्रतिबद्धता जनाएका छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घनप्रति शून्य सहनशीलता अपनाइने बताएका छन्। उल्लङ्घन प्रमाणित भएमा सचेत, जरिवाना वा उम्मेदवारी खारेजसम्मको कानुनी प्रावधान लागू हुन सक्नेछ।
निर्वाचन अवधिमा सामाजिक सञ्जाल वा अनलाइन माध्यम प्रयोग गरी कुनै दल वा उम्मेदवारविरुद्ध नियोजित रूपमा मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति फैलाउन नपाइने आयोगको स्पष्ट चेतावनी छ।
