भारतको ‘केरल’ राज्य बन्यो ‘केरलम’: पर्यटन ब्रान्डिङका दृष्टिले नयाँ पहिचानको यात्रा
काठमाडौं । केरल राज्यको नाम परिवर्तन गरी ‘केरलम’ राख्ने प्रस्तावलाई भारतको केन्द्रीय मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। भाषिक रूपमा प्रचलित नामलाई औपचारिक मान्यता दिने यो निर्णय केवल प्रशासनिक प्रक्रिया मात्र होइन, पर्यटन ब्रान्डिङ र सांस्कृतिक पहिचानको पुनःस्थापनासँग पनि जोडिएको छ।
पछिल्ला केही वर्षदेखि बहसमा रहेको नाम परिवर्तनले पौराणिक कथा, ऐतिहासिक सन्दर्भ र भाषिक पहिचानलाई एकैसाथ समेटेको छ। अहिले यो कदमलाई सांस्कृतिक कूटनीति र ‘डेस्टिनेशन ब्रान्डिङ’ को रणनीतिसँग पनि जोडेर हेरिँदैछ।
‘केरल’बाट ‘केरलम’ : पर्यटन पहिचान सुदृढ गर्ने प्रयास
२४ जुन २०२४ मा राज्य विधानसभाले ‘केरल’लाई ‘केरलम’ नामाकरण गर्ने प्रस्ताव पारित गरेको थियो। १ नोभेम्बर १९५६ मा भाषिक आधारमा राज्यहरूको पुनर्गठन हुँदा केरलको स्थापना भएको थियो र प्रत्येक वर्ष ‘केरल पिरावी दिवस’ मनाइन्छ। तर संविधानको अनुसूचीमा ‘केरल’ उल्लेख हुँदा स्थानीय मलयालम भाषामा भने ‘केरलम’ नै प्रचलित छ।
पर्यटन विश्लेषकहरूका अनुसार स्थानीय उच्चारण र सांस्कृतिक नामलाई औपचारिकता दिँदा गन्तव्यको मौलिकता झल्किन्छ। विश्व पर्यटन बजारमा ‘अथेन्टिसिटी’ (प्रामाणिकता) महत्त्वपूर्ण मानिन्छ। ‘केरलम’ नामले त्यही स्थानीयपन र भाषिक गौरवलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।
मलयालम भाषा र सांस्कृतिक अनुभव
केरल भाषिक आधारमा बनेको राज्य हो र यहाँको प्रमुख भाषा मलयालम हो। मलयालममा राज्यलाई ‘केरलम’ भनिन्छ। अंग्रेजीमा प्रचलित ‘Kerala’ भन्दा ‘Keralam’ स्थानीय ध्वनिसँग नजिक छ।
पर्यटन प्रवर्द्धनमा भाषा र संस्कृति महत्त्वपूर्ण पक्ष हुन्। होमस्टे, आयुर्वेद, कथकली, मोहिनीयट्टमजस्ता सांस्कृतिक कार्यक्रम तथा पाक–पर्यटनमा स्थानीय नामको प्रयोगले गन्तव्यलाई विशिष्ट बनाउँछ।
परशुरामको कथा : पौराणिक पर्यटनको आधार
पौराणिक कथाअनुसार भगवान् विष्णुका छैटौं अवतार परशुरामले समुद्रबाट भूमि निकालेपछि ‘केरल’ बनेको विश्वास गरिन्छ। केरोलपोथी र विभिन्न पुराणहरूमा उल्लेखित यो कथा धार्मिक पर्यटन र मिथकीय यात्रासँग जोडिएको छ।
‘समुद्रबाट निस्किएको भूमि’ को अवधारणाले केरलको समुद्री किनारा, ब्याकवाटर र तटीय भूगोललाई पौराणिक आकर्षण दिन्छ। धार्मिक आस्थासँग जोडिएका यात्रुहरूका लागि यस्तो कथा गन्तव्य अनुभवको अभिन्न अङ्ग बन्छ।
ऐतिहासिक सन्दर्भ : अशोकदेखि चेरा वंशसम्म
इतिहासतर्फ हेर्दा, अशोक का ईसा पूर्व तेस्रो शताब्दीका शिलालेखमा ‘केरलपुत्र’ शब्द भेटिन्छ। यसले केरल क्षेत्रको प्राचीन राजनीतिक पहिचानलाई देखाउँछ।
दक्षिण भारतका प्राचीन चेरा, चोल र पाण्ड्य वंशमध्ये चेरा वंशसँग ‘केरल’ नाम जोडिएको मानिन्छ। भाषिक विकासक्रममा ‘चेरालम’ हुँदै ‘केरलम’ बनेको तर्क प्रस्तुत गरिन्छ। यस्तो ऐतिहासिक निरन्तरताले हेरिटेज टुरिज्म (सांस्कृतिक सम्पदा पर्यटन) लाई बल पुर्याउँछ।
‘नरिवलको भूमि’ र प्राकृतिक ब्रान्डिङ
‘केरा’ अर्थात् नरिवल र ‘आलम’ अर्थात् स्थान भन्ने व्याख्या पनि लोकप्रिय छ। ‘केरलम’ नामले त्यही प्राकृतिक पहिचानलाई थप स्थानीय सन्दर्भ दिन्छ। इको–टुरिज्म, आयुर्वेदिक वेलनेस, समुद्री पर्यटन र ब्याकवाटर क्रुज जस्ता गतिविधिमा सांस्कृतिक नामको प्रयोगले बजारमा पृथक् छवि बनाउने सम्भावना देखिन्छ।
नाम परिवर्तन : पर्यटन कूटनीतिक सन्देश
‘केरल’बाट ‘केरलम’ मा रूपान्तरण केवल एक अक्षरको विषय होइन। यो स्थानीय भाषा, इतिहास र सांस्कृतिक पहिचानलाई संवैधानिक मान्यता दिने कदम हो।
पर्यटनको दृष्टिले हेर्दा, यस्तो नाम परिवर्तनले गन्तव्यलाई पुनःब्रान्डिङ गर्ने अवसर दिन्छ। अन्तर्राष्ट्रिय बजारमा केरलमलाई नयाँ कथा, पौराणिक पृष्ठभूमि र ऐतिहासिक निरन्तरतासँग प्रस्तुत गर्न सकिनेछ।
यसरी ‘केरलम’ केवल प्रशासनिक नाम होइन; यो सांस्कृतिक पर्यटन, धार्मिक आस्था, ऐतिहासिक सम्पदा र प्राकृतिक सौन्दर्यको संयुक्त पहिचानका रूपमा उदाउँदैछ। एजेन्सीको सहयोगमा
