काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालपछि भएका भनिएका सबै काण्डहरूको निष्पक्ष छानबिन गरिने बताएका छन्। निर्वाचनपछि नेपाली कांग्रेस नेतृत्वमा सरकार बनेमा विगतका विवादास्पद प्रकरणहरूलाई कानुनी दायरामा ल्याइने उनको भनाइ छ।
सुर्खेतमा आयोजित बृहत् सभालाई सम्बोधन गर्दै उनले काण्डमा संलग्न जो–कोही भए पनि उन्मुक्ति नपाउने दाबी गरे। “यदि छानबिनमा दोषी देखिए मेरो आफ्नै परिवारको सदस्य किन नहोस्, कसैले पनि उन्मुक्ति पाउँदैन,” उनले भने।
थापाले आगामी पाँच वर्षलाई परिवर्तन र सुधारको अवधिका रूपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गर्दै कांग्रेस नेतृत्वको सरकारले नयाँ काण्ड सिर्जना नगर्ने दाबी गरे। “पाँच वर्षपछि कुनै नागरिकले पनि कांग्रेस सरकारका कारण नयाँ काण्ड जन्मियो भनेर भन्नु नपरोस् भन्ने हाम्रो संकल्प हो,” उनले जोड दिए।
उनका अनुसार अबको प्राथमिकता सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्नेमा केन्द्रित रहनेछ।