काठमाडौँ । अफगानिस्तान र पाकिस्तानबीच बिहीबार रातिदेखि चर्किएको सीमा झडपले दुवै मुलुकमा उल्लेख्य मानवीय तथा सैन्य क्षति पुर्याएको दाबी गरिएको छ।
अफगान पक्षका अनुसार कुनार क्षेत्रमा गरिएको आक्रमणमा ५५ जना पाकिस्तानी सैनिक मारिएको जनाइएको छ। अफगान प्रशासनले २३ सैनिकको शव आफ्ना नियन्त्रणमा रहेको दाबी गरेको छ। साथै पाकिस्तानी सेनाको एक प्रमुख मुख्यालयसहित १९ वटा सुरक्षा चौकी आफ्नो नियन्त्रणमा लिएको दाबी पनि गरिएको छ।
अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रतलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले केही पाकिस्तानी सैनिक जीवितै पक्राउ परेको, साथै ठूलो मात्रामा हतियार, एक ट्याङ्क र कृषि प्रयोजनको हार्भेस्टर समेत नियन्त्रणमा लिइएको उल्लेख गरेका छन्।
यता पाकिस्तानी सञ्चारमाध्यमहरूले इस्लामाबाद सरकारले “अपरेसन गजब लिल हक” नामक प्रतिआक्रमण सुरु गरेको जनाएको छ। पाकिस्तानी वायुसेनाले काबुल र नान्गारहारसहित विभिन्न सहरमा हवाई कारबाही गरेको दाबी गरिएको छ।
पाकिस्तानी पक्षले हालसम्म ७२ अफगान तालिबान लडाकु मारिएको र १२० भन्दा बढी घाइते भएको जनाएको छ। साथै १६ वटा तालिबान चौकी ध्वस्त पारिएको र सातवटा नियन्त्रणमा लिइएको दाबी गरिएको छ।
दुवै देशबीचको पछिल्लो सैन्य तनावले क्षेत्रीय सुरक्षामा नयाँ चुनौती थपिएको विश्लेषण गरिएको छ। अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरिरहेको छ। एजेन्सीको सहयोगमा