काठमाडौं महानगरपालिकाका १० वडाका ५०९ स्थानमा प्राचीन नाम कायम
काठमाडौं – काठमाडौं महानगरपालिकाले १० वटा वडाभित्रका ५०९ स्थानका प्राचीन तथा मौलिक नाम पहिचान र अभिलेखीकरण गरेको जनाएको छ। महानगरको सम्पदा तथा पर्यटन विभाग, काठमाडौं महानगरपालिका ले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा दुई चरणमा गरेको अध्ययनबाट ४३० मूल नाम र ७९ सहायक नाम यकिन गरिएको विभाग प्रमुख कुमारी राईले जानकारी दिए।
तेस्रो चरणको अध्ययन सुरु
तेस्रो चरणमा थप आठ वडाका बस्ती तथा स्थानका मौलिक नामको अध्ययन गरिने भएको छ। यसअन्तर्गत वडा नं १२, १३, १५, २१, २२, २३, २७ र २८ समेटिएका छन्।
सम्झौतापत्रमा कामपा कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतको उपस्थितिमा विभाग प्रमुख राई र एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक रिजा जोशीले हस्ताक्षर गरेका छन्।
‘नाम इतिहासको दस्तावेज हो’
सम्झौता अवसरमा कार्यवाहक प्रमुख डङ्गोलले नाम केवल बोलाउन प्रयोग हुने शब्द नभई इतिहास, संस्कृति र सभ्यताको कथा बोकेको दस्तावेज भएको बताए।
उनले परिचय पाटी राख्दा दृश्य प्रदूषण नहुने र पुरानै स्थानमा राख्न प्राथमिकता दिनुपर्ने सुझावसमेत दिए। “नाम राख्ने र प्रचलनमा ल्याउने कामलाई हलुका रूपमा लिन हुँदैन,” उनले भनिन्।
अध्ययनको दायरा
यसअघि पहिलो चरणमा वडा नं ५, ६, ७, १८ र २४ तथा दोस्रो चरणमा वडा नं ८, १७, १९, २० र २५ मा अध्ययन सम्पन्न भइसकेको छ।
अध्ययनका क्रममा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेका टोल, बस्ती, मठ–मन्दिर, वहाल, धारा, सत्तल र पाटीहरूको खोज–अनुसन्धान गरी मौलिक नाम पहिचान गरिएको विभागले जनाएको छ।
पहिचान गरिएका नाम स्थानीयवासी, संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्सँग परामर्श गरेर पुष्टि गरिने व्यवस्था गरिएको छ।
महानगरको यो पहलले शहरी विकाससँगै सांस्कृतिक पहिचान संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। रासस
