निर्वाचन नजिकिँदै, साढे सात लाखभन्दा बढीले उपत्यका छाडे
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मतदानका लागि गृहजिल्ला फर्किनेको संख्या उल्लेख्य रूपमा बढेको छ। यही कारणले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चाप तीव्र बनेको छ।
ट्राफिक प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहका अनुसार हालसम्म करिब सात लाख ५० हजारभन्दा बढी व्यक्ति उपत्यका बाहिरिसकेका छन्। उनका अनुसार निर्वाचनअघिसम्म यो क्रम जारी रहने अपेक्षा गरिएको छ। “बुधबारसम्म बाहिरिने यात्रुको चाप उच्च रहने अनुमान छ,” उनले बताए।
सार्वजनिक यातायातका बसहरू यात्रुले भरिभराउ छन् भने निजी सवारीसाधनको आवागमन पनि उल्लेख्य रूपमा बढेको छ। परिणामस्वरूप मुख्य राजमार्ग, बसपार्क र उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरूमा लामो सवारी जाम देखिन थालेको छ।
यात्रु व्यवस्थापनलाई सहज बनाउन ट्राफिक प्रहरीले अतिरिक्त जनशक्ति परिचालन गरेको जनाएको छ। सुरक्षासँगै सवारी सञ्चालनलाई व्यवस्थित राख्न निगरानी कडा पारिएको अधिकारीहरूले बताएका छन्।
