मतदाता परिचयपत्र नभए पनि भोट हाल्न पाइन्छ, यी कागजात मान्य
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आज देशभर मतदान भइरहेको छ। मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुने व्यवस्था गरिएको छ।
यस निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ अन्तर्गत १६५ निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ मतदान भइरहेको छ भने समानुपातिकतर्फ ११० सिटका लागि दलहरूले प्रतिस्पर्धा गरिरहेका छन्। प्रत्यक्ष प्रणालीतर्फ ६५ राजनीतिक दलका उम्मेदवारहरू ६१ वटा निर्वाचन चिह्न लिएर मैदानमा उत्रिएका छन्।
निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ कुल तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यसमध्ये तीन हजार १७ पुरुष, ३८८ महिला र एक जना अन्य उम्मेदवार रहेका छन्।
मतदान गर्न जाने मतदाताले आफ्नो पहिचान खुल्ने परिचयपत्र साथमा लैजानुपर्ने व्यवस्था गरिएको छ। आयोगले नयाँ मतदातालाई बुधबार नै मतदाता परिचयपत्र वितरण गरेको थियो भने पुराना मतदाताले पहिले पाएको परिचयपत्र प्रयोग गरेर मतदान गर्न सक्नेछन्।
यदि कसैसँग मतदाता परिचयपत्र नभए पनि अन्य आधिकारिक परिचयपत्रका आधारमा मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एक कागजात प्रस्तुत गरे पनि मतदाता मतदान प्रक्रियामा सहभागी हुन सक्नेछन्।
यस व्यवस्थाले मतदाता परिचयपत्र नभएका नागरिकलाई पनि मतदान अधिकार प्रयोग गर्न सहज बनाउने अपेक्षा गरिएको छ। निर्वाचन आयोगले सबै मतदातालाई आवश्यक कागजातसहित मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ।
