धादिङ–१ मा आशिका तामाङको फराकिलो अग्रता
काठमाडौँ। धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार आशिका तामाङले उल्लेख्य मतान्तरसहित अग्रता कायम गरेकी छन्। हालसम्मको मतगणना अनुसार उनले १८ हजार ३७८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतले अगाडि रहन सफल भएकी हुन्।
उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीले ७ हजार ५४६ मत प्राप्त गरेका छन्। यसैगरी, नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे ५ हजार ७२० मतसहित तेस्रो स्थानमा रहेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार कृष्ण रिजालले भने ३ हजार ८६१ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझ केही समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
