‘पुराना दल’ का अधिकांश शीर्षस्थ नेता पराजित
रुद्र खड्का
काठमाडौं । भर्खर सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पुराना भनेर उपमा पाएका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अधिकांश स्थापित तथा पटकपटक संसद् र सत्ताको अनुभव लिइसकेका उम्मेदवार पराजित भएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल पूर्वी रुकुम पुगेर जित हासिल गर्नुबाहेक अन्य ‘पुराना दल’ का ‘पुराना नेता’ पराजित भएका छन् । दाहाल पनि माओवादी गढ भनेर चिनिएको पूर्वी रुकुम पुगेर चुनाव लड्ने निर्णय नगरेको भए सायद उनको हैसियत पनि हारकोे सूचीमा पर्नेमा कुनै शंका थिएन । दाहालबाहेक त्यस पार्टीका चर्चामा रहेका अधिकांश उम्मेदवारले चुनाव जित्न सकेनन् ।
त्यस्तै निर्वाचनमा पहिलो दल हुने दावीका साथ फेरिएको कांग्रेसको नारा लिएर मतदातासँग पुगेको नेपाली कांग्रेसका शीर्ष नेताहरू पनि पराजित भएका छन् । पटकपटक मन्त्री, सांसद भइसकेका मात्र नभई भावी प्रधानमन्त्रीको रूपमा दावी गरिएका सभापति गगन थापा सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेशकुमार सिंहसँग ठूलो मतान्तरले पराजित भए ।
सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा थापाले २२ हजार ८ सय ३१ मत ल्याए । कांग्रेस सभापतिको दावी गर्दै आएका शेखर कोइराला मात्र नभई महामन्त्रीहरू गुरुराज घिमिरे, प्रदीप पौडेललगायतको सहज हार भयो ।
यता निर्वाचनअघिसम्म आफ्नो हारलाई असम्भव दावी गर्दै आएका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग लज्जास्पद हार बेहोर्न पुगे । शाहले ६८ हजार तीन सय ४८ मत ल्याउँदा ओलीले १८ हजार सात सय ३४ मात्र मत प्राप्त गर्न सके ।
ओली मात्र नभई एमालेका उपाध्यक्ष विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल तथा सचिवहरू महेश बस्नेत, भानुभक्त ढकाल र राजन भट्टराई पनि निर्वाचनमा पराजित भए । उपमहासचिवहरू लेखराज भट्ट र रघुवीर महासेठको पनि प्रतिनिधिसभा प्रवेशको यात्रा सकियो । २०७९ को निर्वाचनमा कांग्रेस पहिलो र एमाले दोस्रो ठूलो दल बनेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्रलगायतका सबै पदाधिकारी पराजित भइसकेका छन् । राप्रपाका ज्ञानेन्द्र शाही मात्र जुम्लाबाट विजयी भएका छन् । निर्वाचनमा पराजित भएपछि राप्रपाका उपाध्यक्ष मिश्रले पार्टी परित्याग गरिसकेका छन् ।
त्यस्तै उपप्रधानमन्त्रीलगायत पटकपटक विभिन्न मन्त्रालयको नेतृत्व गरिसकेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि पराजित भएका छन् । यादवको पार्टीले देशभरिबाट एक सिट पनि जित्न सकेन ।
एमाले, कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पहाडी र थोरै मतदाता रहेका जिल्लाबाट मात्र विजयी हुन सकेका छन् । सहरी र धेरै जनसंख्या रहेका निर्वाचन क्षेत्रमा ‘पुराना दल’ पराजित हुँदा आममतदाताले देशमा परिवर्तन खोजेको प्रष्ट भएको छ ।
कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा जित्नेहरूमा रसुवामा मोहन आचार्य, तेह्रथुममा सन्तोष सुब्बा, मनाङमा टेकबहादुर गुरूङ, मुस्ताङमा योगेश गौचन थकाली, कपिलवस्तुमा अभिषेकप्रताप शाह, जाजरकोटमा खडकबहादुर बुढा, दैलेखमा बासना थापा, सुर्खेत १ मा विष्णुबहादुर खड्का, अछाम १ मा भरतकुमार स्वार, डोटीमा भरतबहादुर खड्का छन् । कांग्रेसका उम्मेदवारमध्ये मुगुमा खड्गबहादुर शाही, हुम्लामा जयपति रोकाय पनि विजयी भएका छन् ।
त्यस्तै एमालेबाट जित्नेहरूमा लक्ष्मीप्रसाद पोखरेल (दैलेख (२), बझाङमा ऐन महर, इलाम–२ मा सुहाङ नेम्वाङ, दार्चुला–१ मा गणेशसिंह ठगुन्ना, ताप्लेजुङमा थितिज थेबे, धनकुटामा राजेन्द्र राई छन् ।
नेपाली कम्युनिष्ट पार्टीबाट जित्नेहरूमा पूर्वी रुकुमबाट संयोजक दाहालसहित पश्चिम रुकुमबाट गोपाल शर्मा, रोल्पाबाट वर्षमान पुन, सल्यानबाट रमेशकुमार मल्ल, डोल्पाबाट धनबहादुर बुढा, कालिकोटबाट महेन्द्रबहादुर शाही, सिन्धुपाल्चोक–२ बा युवराज दुलाल, छन् ।
प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा रास्वपाले एक सय २५ सिटमा विजय प्राप्त गरेको छ । ११० समानुपातिक सिटमध्ये ५८ सिट समेत रास्वपाले जितेको छ ।
