कन्याम–अन्तु पुगेका पर्यटक: अकबरेदेखि छुर्पीसम्मका ‘इलामे कोसेली’ बोकेर फर्किँदै
इलाम । गर्मी सुरु भएसँगै इलामको सूर्योदय नगरपालिका अन्तर्गतका कन्याम र श्रीअन्तु फेरि पर्यटकले भरिन थालेका छन्। हरिया चियाबारी, चिसो हावा र अन्तुबाट देखिने सुनौलो सूर्योदय हेर्न पुग्ने पर्यटकहरू रमाएर फर्किन्छन्। तर उनीहरू खाली हात भने फर्किँदैनन्—साथमा इलामको स्वाद बोकेको कोसेली लिएर फर्किने चलन बढ्दै गएको छ।
अहिले यहाँ घुम्न आउने अधिकांश पर्यटकको झोलामा ललिपप, छुर्पी, बम्बइसन, अकबरे खुर्सानी र इलामे चिया अनिवार्यजस्तै भइसकेका छन्। विशेषगरी अन्तु घुमेर फर्किने पर्यटकहरू सूर्योदय–१० स्थित फिक्कल बजारका पसलहरूमा रोकिएर आफूलाई मनपर्ने कोसेली छानेर किन्ने गर्छन्।
चितवनबाट घुम्न आएका रोशन सापकोटा फिक्कल बजारमा मिठाई किन्दै भेटिए। उनी हाँस्दै भन्छन्, “साथीहरूले इलाम गएर रित्तो नफर्किनु भनेका छन्। यहाँको ललिपप निकै प्रसिद्ध रहेछ, त्यसैले सबैका लागि किनिरहेको छु। जति हेर्दै जान्छु, अझै किनौँ जस्तो लागिरहेको छ।”
फिक्कल बजारका पसलहरूमा छुर्पी, घ्यू, चिया, अकबरे खुर्सानीसँगै रंगीन ललिपप र बम्बइसनका प्याकेटहरू लहरै सजिएका देखिन्छन्। पर्यटकको भीड बढेपछि कतिपय पसलमा कोसेली किन्न पालो कुर्नुपर्ने अवस्था समेत आउँछ।
स्थानीय व्यापारी सुजन सापकोटाका अनुसार पर्यटन ‘सिजन’ सुरु भएपछि व्यापार उल्लेख्य रूपमा बढ्छ। “सामान्य दिनमा पाँच–दस हजारको व्यापार हुन्छ। सिजनमा भने दैनिक ३० हजार रुपैयाँसम्म बिक्री भएको छ,” उनले भने।
इलाम आउने धेरै पर्यटकले यहाँको कोसेली किनेर लैजाने चलन नै बसिसकेको व्यापारी अमीर आचार्य बताउँछन्। “चियाबारीमा फोटो खिचेर मात्रै हुँदैन, यहाँको छुर्पी र ललिपप पनि लिएर जानुपर्छ भन्ने धारणा नै बनिसकेको छ,” उनले भने।
इलामको दुग्धजन्य उद्योग र घरेलु उत्पादनमा पनि पर्यटनले ठूलो टेवा पुर्याएको छ। दूध र चिनीबाट बनाइने ललिपप र बम्बइसन अहिले ‘इलाम ब्रान्ड’का रूपमा परिचित हुँदै गएका छन्। सूर्योदय नगरपालिका–५ का वडाध्यक्ष उर्गेन बम्जनका अनुसार गाउँगाउँमा यस्ता मिठाई उत्पादन गर्ने साना उद्योग बढिरहेका छन्।
जिल्लामा हाल करिब दुई दर्जन ललिपप उद्योग, करिब १५० छुर्पी उद्योग र १८ चिज कारखाना सञ्चालनमा छन्। उद्यमी शिवलाल प्रधानका अनुसार यहाँ उत्पादन हुने मिठाईको माग स्थानीय बजारसँगै काठमाडौँ र भारतसम्म फैलिएको छ। सानो प्याकेट ललिपप ५० रुपैयाँ र ठूलो प्याकेट १०० रुपैयाँमा बिक्री हुन्छ भने उपहारका लागि आकर्षक ‘गिफ्ट प्याक’ समेत उपलब्ध छन्।
दुग्धजन्य उत्पादनको दायरा पनि विस्तार हुँदै गएको छ। जिल्लाका चिज कारखानाले दैनिक करिब २७ हजार लिटर दूध सङ्कलन गर्छन्। त्यसमध्ये ठूलो हिस्सा छुर्पी, मिठाई र अन्य दुग्धजन्य उत्पादनमा प्रयोग हुने गरेको छ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख रागवेन्द्र तिवारीका अनुसार पर्यटन बढेसँगै स्थानीय उत्पादनको बजारीकरण पनि विस्तार हुँदै गएको छ।
“पर्यटक बढ्दा यहाँका चियाबारी मात्र होइन, स्थानीय उत्पादनको पनि प्रचार–प्रसार भइरहेको छ। यसले साना उद्यमीको आयआर्जन बढाउन सहयोग गरेको छ,” उनले भने।
सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालले आगामी आर्थिक वर्षदेखि स्थानीय उत्पादन प्रवर्द्धनका लागि अनुदान दिने योजना बनिरहेको जानकारी दिए।
“पर्यटनसँगै उत्पादन पनि बढिरहेको छ। उत्पादकलाई प्रोत्साहन दिन र बजार विस्तार गर्न नयाँ कार्यक्रम ल्याउने तयारीमा छौँ,” उनले भने।
इलामका हरिया चियाबारी, अन्तुको सुनौलो सूर्योदय र गाउँको मिठास बोकेका कोसेली—यी सबै मिलेर अहिले पर्यटकलाई फेरि–फेरि इलाम तान्ने नयाँ आकर्षण बनेका छन्। यहाँबाट फर्किने धेरै पर्यटकका झोलामा सम्झनासँगै इलामको स्वाद पनि देशका विभिन्न ठाउँसम्म पुगिरहेको छ।
