६ महिनाभित्र १ लाख ७६ हजार लाइसेन्स वितरण गर्ने लक्ष्य
भक्तपुर । यातायात व्यवस्था कार्यालय राधेराधे, भक्तपुरले आगामी ६ महिनाभित्र १ लाख ७६ हजारभन्दा बढी सवारी अनुमति पत्र (लाइसेन्स) वितरण गर्ने लक्ष्यसहित कार्ययोजना अघि बढाएको छ। दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीका लागि जारी गरिने लाइसेन्स वितरण प्रक्रिया मङ्गलबारदेखि औपचारिक रूपमा सुरु गरिएको हो।
कार्यालयका अनुसार सन् २०२२ देखि २०२४ सम्मका सबै तथा २०२५ का केही लाइसेन्स वितरण थालिएको छ। वितरण सुरु भएको पहिलो तीन दिनमै करिब ३ हजार लाइसेन्स सेवाग्राहीलाई उपलब्ध गराइएको सूचना अधिकारी जीवन बस्नेतले जानकारी दिए। उनका अनुसार दैनिक करिब १ हजारसम्म लाइसेन्स वितरण गर्ने क्षमता रहेकाले सबै वितरण सम्पन्न गर्न झण्डै ६ महिना लाग्ने अनुमान गरिएको छ।
हाल कार्यालयमा ८ जना कर्मचारी बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म लाइसेन्स वितरणमा खटिएका छन्। तर अझै करिब १ लाख लाइसेन्स छपाइ भएर आउन बाँकी रहेको कार्यालयले जनाएको छ।
कार्यालयले अनावश्यक भीड नगर्न सेवाग्राहीलाई अनुरोध गर्दै लाइसेन्स प्राप्त नभएसम्म बिल वा डिजिटल माध्यम (मोबाइल एप) प्रयोग गरेर सवारी सञ्चालन गर्न सकिने जनाएको छ। लाइसेन्स वितरण सुरु भएसँगै विगत चार वर्षदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको भीड उल्लेख्य रूपमा बढेको छ।
बिहानैदेखि कार्यालय परिसरमा सेवाग्राहीको लाम लाग्ने गरेको र कार्यालय खुलेलगत्तै वितरण प्रक्रिया तीव्र पारिएको बस्नेतले बताए। नवीकरणका लागि आवेदन दिएका तथा लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेर पनि लामो समयदेखि लाइसेन्स नपाएका सेवाग्राही अहिले रसिदकै भरमा सवारी चलाउँदै आएका थिए।
