पर्यटकीय गन्तव्य बन्दै मलुवा पोखरी
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा रहेको मलुवा पोखरी पछिल्लो समय पर्यटकहरूका लागि आकर्षक गन्तव्यका रूपमा चिनिन थालेको छ। मुन्दुम पदमार्गको यात्राका क्रममा भेटिने यो पोखरी प्राकृतिक सौन्दर्यका कारण घुम्न जानेहरूको ध्यान खिच्न सफल भएको हो। सरकारले घोषणा गरेको ‘घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्य’मध्ये पर्ने मुन्दुम पदमार्गमा पर्ने भएकाले पनि यसको महत्व बढ्दै गएको छ।
समुद्री सतहबाट करिब २ हजार ५०० मिटर उचाइमा अवस्थित मलुवा पोखरी फराकिलो घाँसेमैदानको बीचमा फैलिएको छ। चारैतिर हरियालीले घेरिएको शान्त वातावरण र स्वच्छ प्राकृतिक दृश्यले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गर्छ। वर्षभरि पानीले भरिएको यो पोखरीको रमणीय दृश्यले पदयात्रामा निस्किएका पर्यटकलाई थप आनन्दित बनाउने गरेको छ।
मुन्दुम पदमार्ग हुँदै आउने आन्तरिक तथा विदेशी पर्यटकका लागि यो पोखरी छोटो विश्राम लिने स्थलका रूपमा समेत लोकप्रिय बन्दै गएको छ। पदयात्रामा निस्केका पर्यटक यहाँ केही समय बस्ने, फोटो खिच्ने र वरिपरिको प्राकृतिक दृश्य अवलोकन गर्दै यात्रा अगाडि बढाउने गर्छन्।
पोखरीको आकर्षण बढाउन यहाँ माछाका भुरा हालिएको छ। वरिपरि फैलिएको हरियो घाँसेमैदान र स्वच्छ वातावरणले यस क्षेत्रलाई अझ मनमोहक बनाएको छ। विशेषगरी वसन्त ऋतुमा वरपर फुल्ने गुराँस र विभिन्न वनस्पतिले मलुवा पोखरीको सौन्दर्यलाई झन् उजिल्याउने गरेको स्थानीयवासीको भनाइ छ।
पर्यटन विकासलाई ध्यानमा राख्दै टेम्केमैयुङ गाउँपालिकाले पोखरी क्षेत्रको संरक्षण र व्यवस्थापनमा पहल गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताएका छन्। मुन्दुम पदमार्ग हुँदै आउने पर्यटकको संख्या बढ्दै जाँदा मलुवा पोखरीको महत्व पनि क्रमशः बढिरहेको उनको भनाइ छ।
गाउँपालिकाले पदमार्गको प्रचारप्रसारसँगै मलुवा पोखरी क्षेत्रलाई थप व्यवस्थित बनाउने योजना अघि सारेको जनाएको छ। प्राकृतिक सुन्दरता, शान्त वातावरण र मुन्दुम पदमार्गसँगको सम्बन्धका कारण मलुवा पोखरी अहिले भोजपुर जिल्लाको महत्वपूर्ण पर्यटकीय आकर्षणका रूपमा विकसित हुँदै गएको छ।
