५१ दलले थ्रेसहोल्ड कटाउन सकेनन्
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिएका अधिकांश राजनीतिक दलले न्यूनतम मत सीमा पार गर्न सकेनन्। निर्वाचनमा सहभागी ५७ दलमध्ये ५१ दलले थ्रेसहोल्ड पार गर्न नसक्दा उनीहरू समानुपातिक सिटबाट वञ्चित भएका छन्। समानुपातिक प्रणालीअन्तर्गत कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत प्राप्त गर्ने दलले मात्र प्रतिनिधिसभामा सिट पाउने व्यवस्था छ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कुल एक करोड ७ लाख ३९ हजार ११५ मत सदर भएको छ। तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५१ लाख ८१ हजार ३३० मत प्राप्त गर्दै सबैभन्दा अगाडि रहेको छ। त्यसपछि नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३, नेकपा एमालेले १४ लाख ५५ हजार ६६९, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ८ लाख ११ हजार ३९३ मत पाएका छन्। त्यस्तै श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८५२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ३० हजार ६४९ मत प्राप्त गरेका छन्। यी छ दलले मात्र थ्रेसहोल्ड पार गर्न सफल भएका हुन्।
यसपटक थ्रेसहोल्ड पार गर्न नसक्ने दलहरूमा मधेसकेन्द्रित तथा अन्य साना दलसमेत परेका छन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले १ लाख ८१ हजार ८५० मत पाएको छ भने राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७२ हजार ४९० मत प्राप्त गरेको छ। सिके राउत नेतृत्वको जनमत पार्टीले ७९ हजार ४०३ मत पाउँदा राजेन्द्र महत्तो र रेशम चौधरीसम्बद्ध दलहरू सम्मिलित ‘चकिया (जाँतो)’ चिह्नअन्तर्गतको गठबन्धनले ६२ हजार ६९ मत प्राप्त गरेको आयोगले जनाएको छ।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीले ४२ हजार २९४, राष्ट्र निर्माण दल नेपालले ३९ हजार ५५७, राष्ट्रिय जनमोर्चाले २९ हजार ४५३ मत पाएका छन्। ‘बस’ चिह्नअन्तर्गत रहेका नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपा जनजागृति पार्टीको संयुक्त समूहले २९ हजार ३९६ मत प्राप्त गरेको छ। नेपाल जनता संरक्षण पार्टीले २८ हजार ४०८, प्रगतिशील लोकतान्त्रिक पार्टीले २४ हजार ६७३ तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले २३ हजार ८५८ मत प्राप्त गरेका छन्।
यसैगरी मंगोल नेसनल अर्गनाइजेसनले २० हजार ८२९ मत पाएको छ भने ‘मोबाइल’ चिह्नअन्तर्गत रहेका आम जनता पार्टी र जनादेश पार्टी नेपालले संयुक्त रूपमा १९ हजार २०९ मत पाएका छन्। अन्य दलहरूले पनि न्यूनतम मत सीमा पार गर्न नसकेका कारण समानुपातिक प्रतिनिधित्वबाट बाहिरिएका छन्।
