भ्रष्टाचार नियन्त्रणमा असफल भए रास्वपा टिक्दैन : महावीर पुन
काठमाडौं— नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुनले भ्रष्टाचार नियन्त्रण गर्न नसके रास्वपा पनि दीर्घकालमा टिक्न नसक्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले रास्वपाले सरकार सञ्चालनको पहिलो दिनदेखि नै भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने बताएका छन्। नियम–कानुनको पालना गर्दै भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र आवश्यक परे नयाँ कानुन बनाउन समेत सरकार तयार हुनुपर्ने उनको भनाइ छ।
उनले सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भए जनतामाथि ठूलो धोका हुने र त्यसको असर रास्वपामाथि पनि पर्ने उल्लेख गरेका छन्। जनताले छोटो समयमै सुशासनको अनुभूति गर्नुपर्ने भन्दै उनले तीन महिनाभित्रै परिणाम देखिनुपर्ने बताए।
पुनले सुशासन र पारदर्शिताको अभियानमा आफूले सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्। भ्रष्टाचार र कुशासन अन्त्यका लागि सबै पक्ष मिलेर काम गर्न आवश्यक रहेको उनको धारणा छ।
