पर्यटनको मुख्य सिजनमै ५०% बुकिङ रद्द, वैकल्पिक मार्गबाट पर्यटक ल्याउने प्रयास
काठमाडौं । मध्यपूर्वमा चर्किँदै गएको द्वन्द्वले नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्न थालेको छ। वसन्तकालीन मुख्य पर्यटन सिजनमै करिब ५० प्रतिशतसम्म ट्रेकिङ र टिकट बुकिङ रद्द भएको पर्यटन व्यवसायीहरूले बताएका छन्।
व्यवसायीहरूका अनुसार चैत–वैशाखमा सामान्यतया पर्यटक आगमन उच्च हुने भए पनि यस वर्ष अपेक्षाअनुसार आगमन हुन सकेको छैन। युरोप, अमेरिका लगायतका देशबाट आउने अधिकांश पर्यटक मध्यपूर्वको ट्रान्जिट मार्ग प्रयोग गर्ने भएकाले त्यहाँको अस्थिरताले नेपालसम्मको यात्रा प्रभावित भएको हो। उडान रद्द हुनु, हवाई मार्गमा अवरोध आउनु र यात्रुमा असुरक्षा बढ्नुका कारण धेरैले बुकिङ रद्द गरेको बताइएको छ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले द्वन्द्वका कारण सामान्य ट्रेकिङ र टुर क्षेत्रमा ५० प्रतिशतभन्दा बढी बुकिङ रद्द भएको जानकारी दिए। उनका अनुसार यो अवस्था कोभिडकालजस्तो पूर्ण रूपमा ठप्प नभए पनि पर्यटन क्षेत्रमा उल्लेख्य असर देखिएको छ।
होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले पनि उडान संख्या घट्नु र मध्यपूर्वको तनावका कारण पर्यटक आगमनमा कमी आएको बताए। उनका अनुसार हाल पर्यटकहरू भारत, चीन, थाइल्याण्ड, मलेसिया, हङकङ र कोरिया हुँदै नेपाल आउने वैकल्पिक मार्ग प्रयोग गरिरहेका छन्। विदेशस्थित नेपाली दूतावास र पर्यटन बोर्डले पर्यटकलाई मार्गदर्शन गर्न सक्रिय भूमिका खेल्नुपर्ने उनको सुझाव छ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पाका अनुसार ट्रेकिङ र टुर क्षेत्रमा ठूलो असर परे पनि हिमाल आरोहणमा भने प्रभाव कम छ। आरोहणमा आउने पर्यटकहरू लामो समय नेपाल बस्ने र ठूलो रकम खर्च गर्ने भएकाले अन्तिम समयमा बुकिङ रद्द गर्ने सम्भावना कम हुने उनले बताए।
नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले युरोप र अमेरिकाबाट आउने अधिकांश पर्यटक मध्यपूर्व हुँदै आउने भएकाले पर्यटनमा व्यापक असर परेको बताए। हाल चीन र भारत हुँदै पर्यटक ल्याउने प्रयास भइरहेको भए पनि वैकल्पिक मार्ग प्रयोग गर्दा हवाई भाडा महँगो भएको उनको भनाइ छ।
पर्यटन क्षेत्रलाई चलायमान बनाउन हप्तामा दुई दिन सार्वजनिक बिदा दिनुपर्ने सुझाव पनि ऐरले दिएका छन्। उनका अनुसार इन्धन मूल्य वृद्धि र महँगीका कारण यात्रा घटेकाले दुई दिन बिदा दिँदा आन्तरिक पर्यटन बढ्ने र त्यसबाट आर्थिक गतिविधि चलायमान हुने अपेक्षा गरिएको छ।
नयाँ सरकार गठन र मौसम अनुकूल हुँदै गएकाले आगामी दिनमा पर्यटन क्षेत्र क्रमशः सुधारतर्फ जाने विश्वास व्यवसायीहरूले व्यक्त गरेका छन्।
