वैदेशिक रोजगार ठगीमा संलग्न आरोपितहरूको नामावली सार्वजनिक
काठमाडौँ । वैदेशिक रोजगार विभागले विदेश पठाउने नाममा ठगी गरेको आरोप लागेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छ। विभागले एक महिनाको अवधिमा दर्ता भएका ठगीसम्बन्धी उजुरीका आधारमा आरोपितहरूको नामावली सार्वजनिक गरेको जनाएको छ।
विभागले जारी गरेको सूचनाअनुसार अनुसन्धान तथा मुद्दा शाखामा वैदेशिक रोजगारसम्बन्धी कसुरमा परेका उजुरीका आधारमा आरोपितहरूलाई प्रतिवादी बनाइएको हो। पछिल्लो एक महिनामा ३५२ वटा जाहेरी दर्ता भएको र सोही आधारमा सयौँ व्यक्तिहरूलाई प्रतिवादी बनाइएको विभागले उल्लेख गरेको छ।
एकै जाहेरीमा धेरै व्यक्तिहरू संलग्न हुने प्रवृत्ति देखिएको विभागको भनाइ छ। कतिपय मुद्दामा ८१० जनासम्म प्रतिवादी रहेका छन्। फागुन १७ गतेदेखि चैत १७ गतेसम्मको अवधिमा व्यक्तिगत रूपमा विदेश पठाउने नाममा ठगी गरेको आरोपमा दर्ता भएका उजुरीका आधारमा विवरण सार्वजनिक गरिएको विभागले जनाएको छ।
विभागले वैदेशिक रोजगारीमा जाने नागरिकलाई आधिकारिक प्रक्रिया अपनाउन र व्यक्तिगत एजेन्टको भर नपर्न आग्रह गर्दै ठगीमा संलग्नमाथि कडा कारबाही हुने चेतावनी दिएको छ।
