अन्नपूर्ण क्षेत्रमा पर्यटकको लहर, एक महिनामै ४८ हजारभन्दा बढी विदेशी आगमन
गण्डकी । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ। पछिल्लो एक महिनामा मात्रै ४८ हजारभन्दा बढी विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रका विभिन्न पदमार्ग र गन्तव्यहरूको भ्रमण गरेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP)का अनुसार मार्च महिनामा ४८ हजार ५१३ विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएका छन्। तीमध्ये ३२ हजार २० जना दक्षिण एसियाली मुलुकका पर्यटक रहेका छन् भने १६ हजार ४९३ जना अन्य देशबाट आएका पर्यटक हुन्। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष ११ हजार ६७९ पर्यटकले वृद्धि भएको आयोजना प्रमुख डा. रविन कडरियाले जानकारी दिए।
उनका अनुसार नेपाल आउने कुल विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत अन्नपूर्ण क्षेत्रमै पुग्ने गरेका छन्। विशेषगरी दक्षिण एसियाली पर्यटकमा भारतीय नागरिकको संख्या उल्लेख्य रहेको बताइएको छ। मार्चदेखि मेसम्मको अवधि पदयात्राका लागि अनुकूल मौसम हुने भएकाले यो समयलाई दोस्रो प्रमुख पर्यटन सिजन मानिन्छ।
नयाँ वर्षको आगमन, शैक्षिक संस्थाको बिदा तथा अनुकूल मौसमका कारण आन्तरिक पर्यटकको चहलपहल पनि बढ्दै गएको छ। पदयात्रा, हिमाली दृश्यावलोकन र प्राकृतिक सौन्दर्यका कारण अन्नपूर्ण क्षेत्र विदेशी तथा स्वदेशी दुवै पर्यटकको आकर्षण केन्द्र बनेको आयोजना कार्यालयले जनाएको छ।
अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङला भञ्ज्याङ, उपल्लो मुस्ताङ, घोरेपानी र पुनहिलजस्ता गन्तव्यहरू पर्यटकको रोजाइमा पर्ने गरेका छन्। अन्नपूर्ण चक्रीय पदमार्गमा आउने विदेशी पर्यटकको मात्र आधिकारिक तथ्याङ्क राखिने भए पनि सडक मार्ग हुँदै ठूलो संख्यामा आन्तरिक पर्यटक पनि प्रवेश गर्ने गरेका छन्।
करिब ७ हजार ६०० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडामा फैलिएको छ। प्राकृतिक सुन्दरता, जैविक विविधता, हिमाली संस्कृति र पदयात्रा मार्गका कारण अन्नपूर्ण क्षेत्र विश्वकै लोकप्रिय ट्रेकिङ गन्तव्यका रूपमा स्थापित हुँदै गएको पर्यटन व्यवसायीहरू बताउँछन्।
