लेबननसँग प्रत्यक्ष वार्ता अघि बढाउन इजरायली मन्त्रिपरिषद्लाई नेतन्याहुको निर्देशन
काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबननसँग शान्ति स्थापनाका लागि प्रत्यक्ष वार्ता अघि बढाउन आफ्नो मन्त्रिपरिषद्लाई निर्देशन दिएका छन्। उनले सकेसम्म चाँडो वार्ता सुरु गरी दुई देशबीच दीर्घकालीन शान्ति सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिएका हुन्।
सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरिएको हिब्रु भाषाको वक्तव्यमा नेतन्याहुले लेबननले निरन्तर वार्ताको प्रस्ताव राख्दै आएको दाबी गर्दै अब कूटनीतिक प्रक्रियालाई अघि बढाउने समय आएको उल्लेख गरेका छन्। उनका अनुसार वार्ताको मुख्य एजेन्डा हेजबुल्लाहको नि:शस्त्रीकरण र इजरायल–लेबनन सम्बन्ध सामान्य बनाउने विषय हुनेछ।
अमेरिका–इरानबीच दुई साताका लागि युद्धविराम सम्झौता भएको पृष्ठभूमिमा इजरायलले लेबननमा हवाई आक्रमण जारी राखिरहेका बेला नेतन्याहुको यो निर्देशन सार्वजनिक भएको हो। युद्धविराम घोषणापछि पनि इजरायली सेनाले लेबननमा आक्रमण गर्दा ठूलो मानवीय क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
हालैको आक्रमणमा दुई सयभन्दा बढी मानिसको ज्यान गएको र हजारभन्दा बढी घाइते भएको विवरण सार्वजनिक भएको छ। यसले युद्धविराम सम्झौताले लेबननलाई समेटेको छ कि छैन भन्ने विषयमा अमेरिका र इरानबीच विवाद बढाएको छ।
इरानले युद्धविराम सम्झौतामा लेबननमा पनि आक्रमण रोक्ने प्रावधान रहेको दाबी गरिरहेको छ भने अमेरिकाले भने सम्झौता इजरायल–इरान तनाव सीमित गर्न केन्द्रित रहेको बताएको छ। युद्धविराम प्रक्रियामा मध्यस्थता गरेको पाकिस्तानले पनि लेबननमा हिंसा रोक्ने विषय उठाइएको जनाएको थियो, तर इजरायलले भने उक्त सम्झौता लेबननमा लागू नहुने स्पष्ट पारेको छ।
क्षेत्रीय तनाव बढिरहेको अवस्थामा इजरायल–लेबनन वार्ताको पहललाई मध्यपूर्वमा स्थायित्व ल्याउने सम्भावित कूटनीतिक कदमका रूपमा हेरिएको छ।
