इस्लामावादमा अमेरिका–इरान वार्ता लम्बियो
काठमाडौं । पाकिस्तानको पहलमा इस्लामावादमा जारी अमेरिका र इरानबीचको युद्धविरामसम्बन्धी प्रत्यक्ष वार्ता दोस्रो दिन आइतबार पनि निरन्तर जारी रहेको छ। करिब १५ घण्टादेखि चलेको छलफल अझै निष्कर्षमा पुग्न सकेको छैन।
अमेरिकी सञ्चारमाध्यमका अनुसार दुवै पक्षबीच संवाद सकारात्मक ढंगले अघि बढे पनि केही संवेदनशील विषयमा अझै मतभेद कायमै रहेको छ। इरानी पक्षले पनि वार्ता जारी रहेको पुष्टि गर्दै सहमतिको प्रयास भइरहेको जनाएको छ।
फेब्रुअरी २८ मा सुरु भएको द्वन्द्वले मध्यपूर्व मात्र होइन, विश्व अर्थतन्त्रमै असर पारेको पृष्ठभूमिमा अप्रिल ८ देखि लागू गरिएको अस्थायी युद्धविरामपछि यी वार्ताहरू सुरु भएका हुन्।
४७ वर्षपछि प्रत्यक्ष संवाद
सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक अमेरिका र इरानका उच्च नेतृत्वबीच प्रत्यक्ष आमनेसामने वार्ता भएको हो। अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन्। टोलीमा जारेड कुश्नर र मध्यपूर्वका लागि विशेष दूत स्टिभ विटकफ सहभागी छन्।
इरानी पक्षको नेतृत्व संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले गरेका छन् भने विदेशमन्त्री अब्बास अराघचीसहित उच्च अधिकारीहरू वार्तामा संलग्न छन्।
के छन् विवादका मुख्य मुद्दा?
इस्लामावादस्थित सेरेना होटलमा जारी वार्तामा प्राविधिक र नीतिगत विषयमा गहन छलफल भइरहेको छ। विशेषज्ञ टोलीहरूले सुरक्षा, सैन्य, राजनीतिक, आर्थिक र कानुनी पक्षका साथै आणविक मुद्दामा विस्तृत संवाद गरेका छन्।
तर, निम्न विषयहरूमा अझै सहमति जुट्न सकेको छैन:
- इरानको आणविक कार्यक्रम
- अमेरिकाले लगाएको प्रतिबन्ध फुकुवा
- रोक्का गरिएको इरानी सम्पत्ति
- लेबनानमाथि इजरायली आक्रमण
इरानले लेबनानमाथि भइरहेको आक्रमण तत्काल रोक्नुपर्ने अडान राखेको छ। साथै, वार्ता असफल भए त्यसको जिम्मेवारी अमेरिका र इजरायल दुवैलाई हुने चेतावनी दिएको छ।
इरानी राष्ट्रपतिको सन्देश
इरानी राष्ट्रपति मसुद पेजेस्कियनले सामाजिक सञ्जालमार्फत आफ्नो टोली देशको हित रक्षा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
“वार्ताको नतिजा जे भए पनि सरकार जनताको साथमै रहनेछ,” उनले उल्लेख गरेका छन्।
मिनाब घटनाको स्मरण
वार्ताका क्रममा इरानी सभामुख गालिबाफले मिनाब सहरमा भएको आक्रमणको स्मरण गराउँदै भावुक सन्देश दिएका छन्। उक्त आक्रमणमा १६८ जनाको ज्यान गएको थियो, जसको दोष इरानले अमेरिका र इजरायलमाथि लगाएको छ।
ट्रम्पको कडा चेतावनी
वार्ताअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौता नभए पुनः कडा सैन्य कारबाही हुन सक्ने चेतावनी दिएका थिए। यस्तै, उपराष्ट्रपति भान्सले पनि इरानले वार्तामा ‘चलाखी’ नगर्न आग्रह गरेका छन्।
यसैबीच, मध्यपूर्वमा शान्ति प्रयासलाई अघि बढाउँदै अप्रिल १४ मा अमेरिका–लेबनान–इजरायलबीच छुट्टै वार्ता हुने तयारी पनि गरिएको छ। एजेन्सी सहयोगमा
