सहमति नजुटेपछि भान्स इस्लामावादबाट फर्किए
काठमाडौँ । अमेरिका–इरानबीच इस्लामावादमा भएको लामो प्रत्यक्ष वार्ता निष्कर्षविहीन बनेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स स्वदेश फर्किएका छन्। शनिबारदेखि सुरु भएको वार्ता करिब २१ घण्टासम्म निरन्तर चले पनि कुनै ठोस सहमति हुन सकेन। छलफलका क्रममा इरानको आणविक कार्यक्रम, स्ट्रेट अफ हर्मुजमाथिको नियन्त्रण, तथा इरानमाथि लगाइएका प्रतिबन्धलगायतका संवेदनशील विषयमा गहन बहस भएको थियो।
पत्रकार सम्मेलनमा बोल्दै भान्सले वार्ता उपयोगी भए पनि अपेक्षित परिणाम नआएको स्वीकार गरे। “हामीले धेरै विषयमा छलफल गर्यौं, तर सहमति जुटाउन सकेनौं। यो अवस्था दु:खद् हो,” उनले भने।
उनका अनुसार अमेरिकाले राखेका प्रस्तावहरूमा इरान सहमत हुन तयार देखिएन। “हामी यस्तो चरणमा पुग्न सकेनौं जहाँ इरानले हाम्रो सर्त स्वीकार गरोस्,” उनले थपे।
भान्सले इरानले भविष्यमा आणविक हतियार विकास नगर्ने स्पष्ट र विश्वसनीय प्रतिबद्धता जनाउनु आवश्यक रहेको पनि दोहोर्याए। “त्यस्तो प्रतिबद्धता अहिलेसम्म देखिएको छैन, तर हामी त्यसको अपेक्षा गर्छौं,” उनले इस्लामावादमै भने।
उनले अमेरिका फर्किँदै गर्दा पनि आफ्नो पक्षबाट “सरल प्रस्ताव” अघि सारिएको उल्लेख गर्दै इरानले त्यसमा कस्तो प्रतिक्रिया जनाउँछ भन्ने कुरामा अब ध्यान केन्द्रित हुने बताए। “हामीले प्रस्ताव राखेका छौं, अब हेर्न बाँकी छ—इरानले त्यसलाई स्वीकार गर्छ कि गर्दैन,” भान्सले भने।
