काठमाडौं । इस्लामावादमा इरान र अमेरिकाबीच भएको रातभरको वार्ता निष्कर्षमा नपुग्नुको मुख्य कारण अमेरिकी पक्षको कडा अडान रहेको इरानले जनाएको छ।
इरानी सञ्चारमाध्यमहरूले अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकाले युद्धमार्फत हासिल गर्न नसकेको उद्देश्य वार्ताबाट पूरा गराउने प्रयास गरेको आरोप लगाएका छन्।
फार्स र तस्निम समाचार एजेन्सीका अनुसार अमेरिकी पक्षले वार्ताका क्रममा “अत्यधिक माग” राखेको थियो, जसका कारण सहमति सम्भव हुन सकेन। इरानी अधिकारीहरूको भनाइ उद्धृत गर्दै ती माध्यमहरूले लेखेका छन् कि अमेरिकाले वार्ता कक्षमै इरानविरुद्ध युद्धबाट समेत प्राप्त गर्न नसकेका लक्ष्यहरू अघि सारेको थियो।
विशेषगरी हर्मुज जलडमरूको नियन्त्रण र इरानको आणविक सामग्री हटाउने विषयमा अमेरिकी प्रस्तावलाई इरानी टोलीले अस्वीकार गरेको जनाइएको छ।
राज्य–सम्बद्ध प्रेस टिभीका अनुसार वार्ता कुनै सहमतिको प्रारूप समेत तयार गर्न नसकी टुंगिएको हो।
इरानले केही संवेदनशील विषयमा अमेरिकी पक्ष लचिलो नदेखिएकाले साझा समझदारी बन्न नसकेको स्पष्ट पारेको छ। हर्मुज जलमार्गको आवागमन र आणविक कार्यक्रमजस्ता मुद्दामा दुवै देश आ-आफ्नो कडा अडानमा रहेकाले वार्ता अवरुद्ध भएको जनाइएको छ।