हिउँचितुवाको खोजीले खुल्दै हिमाली पर्यटनको नयाँ सम्भावना
टुरिजमफेस
गलकोट । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष मा पहिलोपटक हिउँचितुवाको गणनाका लागि अत्याधुनिक क्यामेरा जडान गरिनु केवल वन्यजन्तु अनुसन्धान मात्र होइन, हिमाली पर्यटन प्रवर्द्धनको दृष्टिले पनि महत्वपूर्ण कदम बनेको छ।
आरक्षका विभिन्न उच्च हिमाली क्षेत्रमा राखिएका ५६ स्वचालित क्यामेराले अब दुर्लभ हिउँचितुवाको गतिविधि कैद गर्नेछन्। तीन हजार २०० मिटरदेखि पाँच हजार ५०० मिटर उचाइसम्म पुगेर प्राविधिक टोलीले क्यामेरा जडान गरेपछि ढोरपाटनको दुर्गम भूभाग फेरि चर्चामा आएको हो।
विशेषगरी विश्वभर “घोस्ट अफ द माउन्टेन” भनेर चिनिने हिउँचितुवा साहसिक र वन्यजन्तु पर्यटनका लागि आकर्षणको केन्द्र मानिन्छ। नेपालका हिमाली क्षेत्रहरूमा यसको उपस्थिति भए पनि व्यवस्थित तथ्यांक अभावमा यसलाई पर्यटन ब्रान्डिङमा प्रभावकारी रूपमा उपयोग गर्न सकिएको थिएन। ढोरपाटनमा सुरु भएको यो अभियानले भविष्यमा “स्नो लेपर्ड ट्रेल”, वन्यजन्तु अवलोकन तथा इको–टुरिज्मको नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।
आरक्षका रेन्जर सागर सुवेदीका अनुसार क्यामेरा सम्भावित बासस्थान, चट्टान, ओडार र चितुवा हिँड्ने मार्गमा जडान गरिएको छ। क्यामेराले ४५ दिनसम्म स्वतः तस्बिर संकलन गर्नेछ भने प्राविधिक टोलीले प्रत्येक १५ दिनमा ब्याट्री र मेमोरी कार्ड परिवर्तन गर्नेछ।
ढोरपाटन सिकार आरक्ष बागलुङ, म्याग्दी र रुकुमसम्म फैलिएको एक हजार ३२५ वर्ग किलोमिटर क्षेत्रफलको हिमाली संरक्षण क्षेत्र हो। यहाँ नाउर र झारलको वैधानिक सिकार हुने गरे पनि पछिल्लो समय प्रकृतिमा आधारित पर्यटन, पदयात्रा र वन्यजन्तु अवलोकनप्रति आकर्षण बढ्दो छ।
पर्यटन व्यवसायीहरूका अनुसार हिउँचितुवाको वैज्ञानिक अभिलेखीकरण सफल भएमा ढोरपाटन अन्तर्राष्ट्रिय स्तरमा वन्यजन्तु पर्यटन गन्तव्यका रूपमा थप परिचित हुन सक्छ। यसले स्थानीय होटल, होमस्टे, पदमार्ग र प्रकृतिमा आधारित रोजगारी विस्तारमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।
हिमाली जैविक विविधता संरक्षणसँगै पर्यटन विकासलाई जोड्ने यो अभियानले नेपाललाई साहसिक तथा वातावरणमैत्री पर्यटनको नयाँ पहिचान दिलाउन सक्ने देखिएको छ।
