नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टका अनुसार कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो। उनका अनुसार बक्यौता नतिर्ने व्यक्तिको हकमा स्वास्थ्य सेवा बाहेक अन्य सबै सेवा प्रवाह रोकिएको छ। ठेक्का लिने व्यक्तिको तीन पुस्तेसम्मको विवरणका आधारमा सेवासुविधा नियन्त्रण गरिएको जनाइएको छ।
भजनी नगरपालिकाले २०७२ सालदेखि तालतलैया माछापालनका लागि ठेक्कामा दिँदै आएको छ। तर ठेकेदारहरूले समयमै रकम नतिर्दा नगरपालिकाको आन्तरिक आम्दानी प्रभावित हुँदै आएको छ। नगरपालिकामा रहेका दर्जनौँ ताल माछापालनका लागि उपयुक्त मानिन्छन् र यिनै तालतलैया स्थानीय राजस्वको मुख्य स्रोत हुन्।
नगरपालिकाका अनुसार हालसम्म तालतलैयासम्बन्धी बक्यौता रकम पाँच करोड ६९ लाख रुपैयाँभन्दा बढी पुगेको छ। कुल २७ व्यक्ति वा फर्मले अझै रकम बुझाउन बाँकी रहेको बताइएको छ। सबैभन्दा धेरै बक्यौता कैलाली मत्स्य तथा कृषि कम्पनी प्रालिसँग सम्बन्धित देखिएको छ। कम्पनीसँग आबद्ध प्रेमबहादुर भुलले मात्रै करिब एक करोड ९२ लाख रुपैयाँ तिर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ।
घोरताल र गिदिनियातालको ठेक्का दुई करोड २९ लाख रुपैयाँभन्दा बढीमा सम्झौता भए पनि हालसम्म करिब ३७ लाख रुपैयाँ मात्रै भुक्तानी भएको राजस्व शाखाले जानकारी दिएको छ।
बक्यौता तिर्न बाँकी रहनेमध्ये जनप्रतिनिधि पनि परेका छन्। वडा नम्बर ४ का वडासदस्य तालबहादुर चौधरीले श्रीमतीको नाममा लिएको तालको ठेक्कामा ठूलो रकम बाँकी रहेको खुलेको छ। नगरपालिकाका अनुसार २७ लाख रुपैयाँभन्दा बढीमा भएको सम्झौतामध्ये चार लाख ५० हजार रुपैयाँ मात्रै भुक्तानी भएको छ भने बाँकी रकम अझै उठ्न सकेको छैन।
तालबहादुर चौधरीले भने सामुदायिक वन र नगरपालिकासँगको विवादका कारण ताल सञ्चालन प्रभावित हुँदा आम्दानी घटेको र त्यसैले समयमा रकम बुझाउन नसकिएको बताएका छन्। उनले जेठभित्र बक्यौता तिर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
नगरप्रमुख केवल चौधरीले पटक–पटक ताकेता गर्दा पनि रकम नउठेपछि सेवा रोक्ने निर्णय गर्नुपरेको बताए। उनका अनुसार बक्यौता चुक्ता गरेपछि सम्बन्धित व्यक्तिको सेवा पुनः सञ्चालन गरिनेछ भने अटेर गरे थप कानुनी प्रक्रिया अघि बढाइनेछ। रासस