पर्यटक बढे, तर नेपालमा खर्च गर्ने प्रवृत्ति घट्दो
काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढ्दै गए पनि उनीहरूले गर्ने औसत दैनिक खर्च भने घट्दै गएको देखिएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपाल आउने पर्यटकको दैनिक खर्चमा उल्लेखनीय गिरावट आएको हो ।
सर्वेक्षणअनुसार सन् २०२४ मा नेपाल आएका पर्यटकले प्रतिदिन औसत ४०.८४ अमेरिकी डलर खर्च गर्ने गरेका थिए । तर सन् २०२५ मा यो रकम घटेर ३३.०८ अमेरिकी डलरमा सीमित भएको छ । अर्थात्, पर्यटकको दैनिक खर्च झन्डै १९ प्रतिशतले घटेको देखिएको छ ।
पर्यटन व्यवसायीहरूले पर्यटकको संख्या मात्रै बढेर नहुने, उनीहरूले देशभित्र खर्च गर्ने वातावरण बनाउन नसक्दा पर्यटन क्षेत्रले अपेक्षित आर्थिक लाभ लिन नसकेको बताएका छन् ।
नेपाल पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कुमारमणि थापाका अनुसार नेपालसम्म आइपुग्नकै लागि विदेशी पर्यटकले ठूलो रकम खर्च गर्नुपर्ने भएकाले यहाँ आएपछि उनीहरू खर्चमा संयमित हुने गरेका छन् ।
उनले भने, “विदेशबाट नेपाल आउँदा हवाई टिकटमै हजारौं डलर खर्च हुन्छ । त्यसपछि पर्यटकले यहाँ अनावश्यक खर्च कटौती गर्ने प्रवृत्ति देखिन्छ । हामीले उनीहरूलाई आकर्षक र गुणस्तरीय सेवा दिन सकेका छैनौँ ।”
उनका अनुसार नेपालले अब ‘लक्जरी टुरिजम’ तर्फ ध्यान दिन आवश्यक छ । उच्चस्तरीय आवास, मनोरञ्जन, सांस्कृतिक अनुभव, सहज यातायात र आधुनिक पूर्वाधार विकास गर्न सके पर्यटकको खर्च बढाउन सकिने उनको भनाइ छ ।
पर्यटन व्यवसायीहरूका अनुसार नेपालमा अझै पनि पर्यटकले किनमेल गर्न सक्ने अन्तर्राष्ट्रिय स्तरका वस्तु तथा सेवाको कमी छ । स्मरणीय अनुभव दिने गतिविधि र खर्च गर्ने उपयुक्त गन्तव्यको अभावले पनि पर्यटकको खर्च घटिरहेको उनीहरूको तर्क छ ।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले पर्यटकलाई गुणस्तरीय सेवा र किनमेलका अवसर उपलब्ध गराउन राज्यले लगानी बढाउनुपर्ने बताए ।
उनले भने, “पर्यटक नेपाल आएर घुम्छन्, बस्छन्, तर खर्च गर्ने पर्याप्त आधार पाउँदैनन् । स्थानीय उत्पादन, हस्तकला, सांस्कृतिक बजार र मनोरञ्जन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्नुपर्छ ।”
यद्यपि, पर्यटक आगमन भने बढ्दो क्रममा रहेको छ । सर्वेक्षणअनुसार सन् २०२५ मा नेपाल आउने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा १.३ प्रतिशतले बढेर ११ लाख ६२ हजार ३६५ पुगेको छ । सन् २०२४ मा यो संख्या ११ लाख ४७ हजार ५४८ रहेको थियो ।
नेपाल आउने अधिकांश पर्यटक बिदा मनाउन तथा मनोरञ्जनका लागि आउने गरेका छन् । कुल पर्यटकमध्ये ६० प्रतिशतभन्दा बढी यही उद्देश्यका लागि नेपाल आएको तथ्यांकमा उल्लेख छ ।
त्यसमध्ये धार्मिक तथा तीर्थयात्राका लागि आउने पर्यटक १४.४ प्रतिशत रहेका छन् भने पदयात्रा तथा पर्वतारोहणका लागि आउने पर्यटकको हिस्सा १४.२ प्रतिशत छ । व्यापार, अध्ययन तथा अन्य प्रयोजनका लागि आउने पर्यटकको संख्या पनि उल्लेख्य रहेको देखिएको छ ।
रोचक पक्ष के छ भने पर्यटकको दैनिक खर्च घटे पनि नेपालमा बसाइ अवधि भने बढेको छ । सन् २०२४ मा विदेशी पर्यटकको औसत बसाइ अवधि १३.३ दिन रहेकामा सन् २०२५ मा बढेर १६.३४ दिन पुगेको छ ।
नेपाल भ्रमण गर्ने पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन् । तथ्यांकअनुसार भारतबाट करिब दुई लाख ९३ हजार पर्यटक नेपाल आएका छन् । त्यसपछि अमेरिका, चीन, बेलायत, बंगलादेश, अष्ट्रेलिया, श्रीलंका, थाइल्यान्ड, जर्मनी र जापान प्रमुख स्रोत मुलुकका रूपमा रहेका छन् ।
यता, पर्यटन क्षेत्रबाट प्राप्त हुने कुल भ्रमण आय भने केही वृद्धि भएको छ । सन् २०२५ मा पर्यटन आय ४.८ प्रतिशतले बढेको सर्वेक्षणले देखाएको छ । अघिल्लो आर्थिक वर्षमा पर्यटन क्षेत्रबाट ८३ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको थियो ।
पर्यटन क्षेत्रका जानकारहरूका अनुसार अब नेपालले केवल पर्यटक संख्या बढाउने लक्ष्यभन्दा माथि उठेर “उच्च खर्च गर्ने पर्यटक” आकर्षित गर्ने रणनीतिमा ध्यान दिनुपर्ने देखिएको छ । त्यसका लागि गुणस्तरीय सेवा, सुरक्षित र सहज यात्रा, आधुनिक पूर्वाधार तथा सांस्कृतिक र विलासी पर्यटन प्याकेज विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
