गणतन्त्र दिवसमा राष्ट्रपतिको सन्देश : अधिकारसँगै जिम्मेवारी पनि आवश्यक
गणतन्त्र दिवस २०८३ का अवसरमा टुडिँखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट पदाधिकारी । तस्बिरः किरणराज विष्ट/रासस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक गणतन्त्रले नागरिकलाई पूर्ण राजनीतिक अधिकार सुनिश्चित गरेको बताएका छन् । गणतन्त्र दिवस २०८३ का अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्था जनताको अधिकार, समावेशिता र लोकतान्त्रिक अभ्यासको आधार भएको उल्लेख गरे ।
गणतन्त्र दिवसको अवसरमा पहिलोपटक औपचारिक सम्बोधन गरेका राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक प्रणालीमध्ये एक भएको बताए । उनले नेपाली जनताले आफ्नै संविधानमार्फत संघीयता, सामाजिक न्याय, समावेशिता र लोकतन्त्रमा आधारित शासन व्यवस्थालाई संस्थागत गरेको धारणा राखे ।
राष्ट्रपति पौडेलका अनुसार गणतन्त्र स्थापनापछि राज्यसत्ताको पहुँच केन्द्रबाट गाउँ तहसम्म विस्तार भएको छ । संविधानले नागरिक सर्वोच्चताको अभ्यासलाई सुदृढ बनाएको उल्लेख गर्दै उनले स्थानीय र प्रदेश सरकारमार्फत जनताले आफ्नै घरआँगनबाट सार्वभौम अधिकार प्रयोग गरिरहेको बताए ।
उनले गणतन्त्रले देशलाई राजनीतिक रूपमा एकताबद्ध बनाएको उल्लेख गर्दै साझा राष्ट्रिय भावना निर्माणमा यसको महत्वपूर्ण भूमिका रहेको बताए । “गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको प्रत्याभूति दिएको छ,” उनले भने, “यसले नागरिकलाई एकताबद्ध गर्दै समुन्नत राष्ट्र निर्माणतर्फ प्रेरित गरेको छ ।”
राष्ट्रपतिले लोकतान्त्रिक प्रणालीलाई प्रभावकारी बनाउन राजनीतिक दल र नेतृत्वको आचरण सुधार आवश्यक रहेकोमा पनि जोड दिए । उनका अनुसार सरकार, राजनीतिक दल र नेतृत्व जनउत्तरदायी, विनम्र, सिर्जनशील तथा नैतिक हुन सके मात्रै लोकतन्त्रप्रति जनविश्वास अझ बलियो बन्न सक्छ ।
समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री बालेन्द्र शाहलगायत उच्च पदाधिकारी, सुरक्षा निकायका प्रमुख तथा विभिन्न क्षेत्रका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
यस वर्षको गणतन्त्र दिवस समारोहमा मुलुकको राजनीतिक उपलब्धि, संघीय लोकतान्त्रिक व्यवस्थाको अभ्यास र नागरिक सहभागितालाई विशेष रूपमा प्रस्तुत गरिएको थियो ।
गणतन्त्र दिवस २०८३ का अवसरमा टुडिँखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट पदाधिकारी । तस्बिरः किरणराज विष्ट/रासस
