अन्नपूर्ण आरोहण दिवसमा दोर्दी केन्द्रित पर्यटन अभियान, नयाँ पदमार्गको खोजी र प्रवर्द्धनमा जोड
लमजुङ । अन्नपूर्ण हिमालको पहिलो सफल आरोहणको ऐतिहासिक दिनलाई स्मरण गर्दै लमजुङको दोर्दी गाउँपालिकामा दुईदिने पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरिने भएको छ। आगामी जेठ २० र २१ गते सञ्चालन हुने कार्यक्रममा दोर्दी क्षेत्रका नयाँ पदयात्रा मार्ग, सांस्कृतिक सम्पदा र प्राकृतिक आकर्षणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा चिनाउने लक्ष्य राखिएको छ।
गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, दोर्दी गाउँपालिका तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एसीएपी)को सहकार्यमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशले कार्यक्रम आयोजना गर्न लागेको हो।
पर्यटन क्षेत्रमा पछिल्लो समय सडक विस्तारसँगै धेरै परम्परागत पदयात्रा मार्गको मौलिकता हराउँदै गएको चर्चा भइरहेका बेला दोर्दी क्षेत्रलाई शान्त, प्राकृतिक र कम व्यावसायिक प्रभाव परेको वैकल्पिक गन्तव्यका रूपमा स्थापित गर्ने प्रयासस्वरूप कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।
दोर्दी गाउँपालिका प्राकृतिक सौन्दर्य, हिमशृंखलाको मनोरम दृश्य, गुरुङ समुदायको मौलिक संस्कृति तथा सामुदायिक जीवनशैलीका कारण पदयात्रा तथा ग्रामीण पर्यटनका लागि उपयुक्त गन्तव्य मानिन्छ। तर पर्याप्त प्रचारप्रसारको अभावमा यस क्षेत्रका धेरै सम्भावनायुक्त स्थल अझै पर्यटकको पहुँचमा आउन सकेका छैनन्।
गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले कार्यक्रमले दोर्दीका पर्यटकीय सम्पदालाई व्यापक रूपमा चिनाउने विश्वास व्यक्त गरे। उनका अनुसार पर्यटन विकासमार्फत स्थानीय समुदायको आयआर्जन बढाउने, रोजगारी सिर्जना गर्ने तथा ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य पनि यससँग जोडिएको छ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले कार्यक्रमअन्तर्गत स्थानीय पर्यटन व्यवसायी, सरोकारवाला निकाय तथा पर्यटनकर्मीबीच अन्तरक्रिया गरिनुका साथै जलवायु परिवर्तनले हिमाली पर्यटनमा पारिरहेको प्रभावबारे पनि छलफल हुने जानकारी दिए। उनका अनुसार विश्वव्यापी तापक्रम वृद्धि, हिमनदी पग्लिने क्रम र बदलिँदो मौसमीय अवस्थाले हिमाली पर्यटनमा देखिएका चुनौतीबारे विशेष बहस हुनेछ।
कार्यक्रमको पहिलो दिन पोखराबाट भोटेओडार हुँदै मञ्जाङ ढोकेडाँडासम्म यात्रा गरी सहभागीहरू लामागाउँ पुग्नेछन्। मार्गमा पर्ने दासडाँडामा स्थानीयले पञ्चेबाजासहित स्वागत गर्ने कार्यक्रम तय गरिएको छ। त्यसपछि अन्नपूर्ण आरोहण दिवस विशेष समारोह, पर्यटन प्रवर्द्धनसम्बन्धी औपचारिक कार्यक्रम तथा पर्वतारोहण क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको सम्मान गरिनेछ।
लामागाउँमा सहभागीहरूले गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा र सांस्कृतिक प्रस्तुति नजिकबाट अवलोकन गर्ने अवसर पाउनेछन्। आवास र भोजनको व्यवस्था स्थानीय होमस्टेमा गरिएको छ, जसले सामुदायिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दोस्रो दिन नेपाली झण्डा पार्क, चियाबारी, मौलाकोट क्षेत्र तथा आसपासका गुम्बाहरूको अवलोकन भ्रमण गराइने कार्यक्रम छ। यसमार्फत दोर्दी क्षेत्रका पर्यटकीय आकर्षणहरूको प्रत्यक्ष अनुभव गराउँदै पर्यटन बजारमा यसको पहिचान विस्तार गर्ने उद्देश्य राखिएको छ।
आयोजकका अनुसार यस्ता कार्यक्रमले ओझेलमा परेका गन्तव्यहरूको प्रचारप्रसार मात्र नभई स्थानीय उत्पादनको बजारीकरण, ग्रामीण रोजगारी विस्तार तथा दिगो पर्यटन विकासमा समेत सकारात्मक प्रभाव पार्नेछ।
