शुक्लाफाँटामा ३१३ पुगे कृष्णसार
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गतको हीरापुर संरक्षण क्षेत्रमा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या ३१३ पुगेको छ। करिब डेढ दशकअघि सुरु गरिएको संरक्षण कार्यक्रमले उल्लेखनीय सफलता हासिल गरे पनि बढ्दो सङ्ख्यासँगै यसको व्यवस्थापन र दीर्घकालीन संरक्षण चुनौतीपूर्ण बन्दै गएको निकुञ्ज प्रशासनले जनाएको छ।
निकुञ्जको पछिल्लो गणनाअनुसार संरक्षण क्षेत्रमा ८१ वयस्क भाले, २० अर्धवयस्क भाले, १०२ वयस्क पोथी, २६ अर्धवयस्क पोथी तथा ८४ पाठापाठी रहेका छन्। संरक्षण प्रयास प्रभावकारी बन्दै जाँदा कृष्णसारको सङ्ख्या निरन्तर वृद्धि भएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए।
उनका अनुसार अहिलेको प्रमुख चिन्ता सीमित क्षेत्रभित्र अत्यधिक सङ्ख्यामा कृष्णसार रहँदा रोगको जोखिम बढ्नु हो। यसलाई मध्यनजर गर्दै केही कृष्णसारलाई प्राकृतिक बासस्थानमा पुनःस्थापना गर्ने वा अन्य उपयुक्त क्षेत्रमा स्थानान्तरण गर्ने विषयमा अध्ययन भइरहेको छ।
वन तथा वातावरण मन्त्रालयले शुक्लाफाँटा र बर्दियाको खैरापुर संरक्षण क्षेत्रबाट कृष्णसारको सन्तुलित समूह तयार गरी चितवनमा पुनःस्थापना गर्ने योजना अघि बढाएको छ। यसबाट वंशाणुगत विविधता कायम राख्न, प्रजनन व्यवस्थापन सुधार गर्न तथा एउटै क्षेत्रमा हुने जैविक दबाब कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हाल हीरापुर क्षेत्रमा ५८.८ हेक्टर क्षेत्रफल तारबार गरेर कृष्णसार संरक्षण गरिएको छ। सन् २०१२ मा केवल ७.५ हेक्टर क्षेत्रबाट सुरु भएको संरक्षण कार्यक्रमलाई चरणबद्ध रूपमा विस्तार गर्दै हालको आकारमा पुर्याइएको हो।
तर संरक्षणको अर्को पाटो चुनौतीपूर्ण छ। खुला घाँसे मैदान मन पराउने कृष्णसारलाई प्राकृतिक बासस्थानमा छाड्दा चितुवा, भुस्याहा कुकुर र चोरी सिकारीबाट सुरक्षा दिनुपर्ने हुन्छ। त्यसैगरी छाडा चौपायाबाट सर्ने सङ्क्रामक रोगले पनि संरक्षणमा जोखिम थप्ने गरेको निकुञ्ज प्रशासनको भनाइ छ।
कृष्णसारका लागि आवश्यक आहार सुनिश्चित गर्न चरन क्षेत्र संरक्षण, घाँसे मैदान व्यवस्थापन तथा मकै, मसुरोलगायत बाली उत्पादन गर्ने कार्य नियमित रूपमा हुँदै आएको छ। यद्यपि सीमित बजेटका कारण पछिल्ला वर्षहरूमा स्रोत व्यवस्थापनमा कठिनाइ देखिन थालेको छ।
शुक्लाफाँटामा कृष्णसार संरक्षण अभियान सन् २०१२ मा नेपालगञ्जको मिनी चिडियाखानाबाट २२ वटा कृष्णसार ल्याएर सुरु गरिएको थियो। त्यसपछि ललितपुरस्थित सदर चिडियाखाना र बर्दियाको खैरापुर संरक्षण क्षेत्रबाट थप कृष्णसार स्थानान्तरण गरिए। तीन चरणमा गरी ल्याइएका जम्मा ४२ वटा कृष्णसारको सङ्ख्या अहिले बढेर ३१३ पुगेको छ, जुन करिब सात गुणा वृद्धि हो।
कृष्णसारको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै दाना, चोकर, ढुटो, मकै र चना नियमित रूपमा खुवाइने गरिएको छ। जुका, किर्ना तथा अन्य परजीवीको सङ्क्रमण नियन्त्रणका लागि औषधियुक्त आहारसमेत उपलब्ध गराइन्छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले कृष्णसारलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। एक समय नेपाल, भारत र बङ्गलादेशका खुला घाँसे मैदानमा व्यापक रूपमा पाइने यो प्रजाति बासस्थान विनाश, चोरी सिकार र प्राकृतिक विपत्तिका कारण लोपोन्मुख अवस्थासम्म पुगेको थियो।
पर्यटकीय आकर्षण बन्दै हीरापुर
कृष्णसार संरक्षण क्षेत्र अहिले संरक्षणसँगै पर्यटकीय आकर्षणको केन्द्रका रूपमा पनि विकसित हुँदै गएको छ। दुर्लभ कृष्णसार अवलोकनका लागि दैनिक रूपमा आन्तरिक पर्यटक पुग्ने गरेका छन्। आकर्षक स्वरूप र धार्मिक-सांस्कृतिक महत्त्वका कारण पनि कृष्णसारप्रति आगन्तुकको चासो बढ्दो छ।
स्थानीयवासीले संरक्षण क्षेत्रलाई पर्या–पर्यटनसँग जोडेर विकास गर्नुपर्नेमा जोड दिएका छन्। संरक्षण क्षेत्र नजिकैको सिमलफाँटा बस्तीमा होमस्टे सञ्चालनमा आइसकेको छ। स्थानीयका अनुसार होमस्टेको स्तरोन्नति, पर्यटकमैत्री पूर्वाधार निर्माण तथा अवलोकन कार्यक्रम विस्तार गर्न सकिए संरक्षण र जीविकोपार्जन दुवै क्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ।
निकुञ्ज प्रशासनले पनि कृष्णसार संरक्षण र पर्या–पर्यटन प्रवर्द्धनलाई सँगसँगै अघि बढाउने नीति लिएको जनाएको छ। स्थानीय समुदायको सहभागिता, जैविक विविधताको संरक्षण र पर्यटन विकासबीच सन्तुलन कायम गर्दै संरक्षण क्षेत्रलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको निकुञ्जका अधिकारीहरूको भनाइ छ।
