एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ। प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचारका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले विभागबाट अनुसन्धानका लागि पत्र प्राप्त भएपछि पौडेललाई नियन्त्रणमा लिइएको पुष्टि गरे। उनका अनुसार पौडेललाई सुर्खेतस्थित एक होटलबाट पक्राउ गरिएको हो।
प्रहरीले पक्राउपछि पौडेललाई बाँकेको नेपालगन्जतर्फ लगिएको जनाएको छ। त्यहाँबाट सम्भव भएमा उनलाई हवाईमार्गबाटै काठमाडौं ल्याउने तयारी गरिएको छ।
हालसम्म पौडेलमाथि लगाइएको आरोपको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। विभागले कुन प्रकृतिको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका सिलसिलामा पत्राचार गरेको हो भन्नेबारे पनि औपचारिक जानकारी आउन बाँकी छ।
पछिल्ला दिनमा उच्च राजनीतिक तहका व्यक्तिमाथि समेत आर्थिक अनियमितता, सम्पत्ति शुद्धीकरण र सार्वजनिक पदको दुरुपयोगसम्बन्धी अनुसन्धान बढिरहेका बेला पौडेल पक्राउ परेका हुन्।
