ज्याला नपाएर १५ वर्षदेखि हिमालपारि अलपत्र: ‘बन्दिपुर’ नामले चिनिएका सुमनको पीडादायी कथा
Tourism Face Banner News, NEWS 0
गोरखा । रोजगारी गरेर कमाएको पैसा लिएर घर फर्किने सपना बोकेर तनहुँको बन्दीपुरबाट गोरखा पुगेका सुमन थापामगर १५ वर्ष बितिसक्दा पनि घर फर्किन सकेका छैनन्। काम गरेको पारिश्रमिक पटक–पटक नपाउँदा उनी हिमालपारिको चुमभ्यालीमै अलपत्र परेका छन्। अहिले स्थानीयले उनलाई वास्तविक नामभन्दा पनि ‘बन्दिपुर’ भनेर चिन्छन्।
चुमनुब्री गाउँपालिका–७ को छेकम गाउँमा बस्दै आएका सुमन भन्छन्, “यहाँ सबैले बन्दिपुर भनेर बोलाउँछन्। कहिलेकाहीँ त आफ्नै नामभन्दा यही नाम बढी परिचित लाग्छ।”
ज्याला खोज्दै जाँदा झन् टाढा पुगेको यात्रा
सुमन २०६८/६९ सालतिर ज्यामी काम गर्न आरुघाट पुगेका थिए। सोती क्षेत्रमा सडक निर्माणमा १३८ दिन काम गरे पनि ठेकेदारले पारिश्रमिक नदिई सम्पर्कविहीन भएपछि उनको जीवनले नयाँ मोड लियो।
घर फर्किनुपर्ने ठाउँमा उनी आफ्नो मेहनतको पैसा खोज्दै फिलिम पुगे। त्यहाँ पनि विभिन्न निर्माण आयोजनामा काम गरे तर अर्को ठेकेदारबाट पनि ज्याला पाएनन्। त्यसपछि पैसा दिने आश्वासनमा उनी फेरि अर्को स्थान पुगे, तर अवस्था उस्तै रह्यो।
यसरी एउटा अधुरो हिसाब उठाउन खोज्दा उनी अर्को अधुरो हिसाबमा फस्दै गए र अन्ततः चुमभ्यालीसम्म आइपुगे।
१० वर्षदेखि चुमभ्यालीमै संघर्ष
पछिल्लो दशकदेखि छेकम गाउँमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका सुमनलाई अधिकांशले खाना दिएर काम लगाउने गरेको उनी बताउँछन्। नियमित पारिश्रमिक भने अझै पाएका छैनन्।
उनका अनुसार सोती, फिलिम र छेकममा काम गरेबापत अझै ठूलो रकम उठाउन बाँकी छ। “पैसा पाएको दिन घर फर्किन्छु भन्ने सोच अझै बाँकी छ,” उनी भन्छन्।
कामको साटो कुटपिट
केही साताअघि यार्सागुम्बा संकलन क्षेत्रमा भरियाको काम गर्न गएका सुमन गाउँ फर्किएपछि आफूलाई कुटपिट गरिएको आरोप लगाउँछन्। उक्त घटनामा उनको हातसमेत भाँचिएको छ।
स्थानीय गुम्बाका लामाले जडीबुटी र परम्परागत उपचार गरिदिए पनि हात अझै पूर्ण रूपमा निको नभएको उनी बताउँछन्। उपचारको अभाव र आर्थिक कठिनाइका कारण अहिले उनी काम गर्नसमेत असमर्थ बनेका छन्।
परिवारसँग सम्पर्कविहीन
तनहुँको बन्दीपुरमा आमा, दुई दाजुभाइ र दुई बहिनी रहेका सुमनले परिवारसँग अन्तिम पटक सम्पर्क गरेको पनि करिब १० वर्ष बितिसकेको छ। सञ्चार, आर्थिक अवस्था र घर फर्किने साधन नहुँदा उनी आफ्नै परिवारबाट टाढिएका छन्।
छेकम गाउँमा कसैले “ओइ बन्दिपुर” भनेर बोलाउँदा भने उनलाई आफ्नै गाउँ र परिवारको झल्को आउने गर्छ।
श्रमिक अधिकारमाथि प्रश्न
सुमनको कथा केवल एक व्यक्तिको दुःख होइन, दुर्गम क्षेत्रमा काम गर्ने श्रमिकले समयमै पारिश्रमिक नपाउने समस्या कति गम्भीर छ भन्ने उदाहरण पनि हो। रोजगारीको खोजीमा घर छाडेका उनी आज पनि आफ्नो पसिनाको मूल्य पाउने आशामा चुमभ्यालीमै संघर्ष गरिरहेका छन्। उनका लागि घर फर्किने सपना अझै अधुरै छ, र त्यो सपना पूरा हुने आशा उनी अझै पनि आफूले कमाएको ज्यालासँगै जोडेर बसेका छन्।
