जुनमा नेपाल भित्रिए ९१ हजारभन्दा बढी विदेशी पर्यटक, आगमनमा झन्डै २० प्रतिशतको वृद्धि
Tourism Face Main News, NEWS 0
काठमाडौं । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक नेपाल आएका छन्। अध्यागमन विभागको तथ्यांकमा आधारित विवरणअनुसार यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १९.५ प्रतिशतले बढी हो।
गत वर्ष जुन महिनामा ७६ हजार ४२५ विदेशी पर्यटक नेपाल आएका थिए। त्यस्तै, कोभिड–१९ महामारीअघि सबैभन्दा राम्रो पर्यटन वर्ष मानिएको सन् २०१९ को जुनमा ७४ हजार ८८३ पर्यटक आगमन भएको थियो। यस आधारमा हेर्दा यस वर्षको जुनमा सन् २०१९ को तुलनामा पनि २२.०१ प्रतिशतले बढी पर्यटक नेपाल आएका छन्।
क्षेत्रगत रूपमा सबैभन्दा धेरै पर्यटक दक्षिण एसियाली (सार्क) मुलुकबाट आएका छन्। उक्त क्षेत्रबाट ४८ हजार २५४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ५२.८ प्रतिशत हो। यसमध्ये भारतबाट मात्रै ४१ हजार ८०९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।
अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल आएका छन्। चीनबाट ९ हजार ९९५, जापानबाट ९२५, दक्षिण कोरियाबाट ९१४ र थाइल्यान्डबाट ५१४ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
युरोपेली बजारबाट ६ हजार ९५४ पर्यटक नेपाल आएका छन्। बेलायतबाट २ हजार ५००, जर्मनीबाट ५५७ र फ्रान्सबाट ५०२ पर्यटकले नेपाल रोजेका छन्।
अमेरिकी महादेशबाट ११ हजार ८३६ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १२.९५ प्रतिशत हो। यस अवधिमा क्यानडाबाट १ हजार ११ र ब्राजिलबाट १०४ पर्यटक नेपाल आएका छन्।
ओसियानिया क्षेत्रबाट ३ हजार ९० पर्यटक नेपाल पुगेका छन्। यो संख्या गत वर्षको तुलनामा ५६.३५ प्रतिशत र सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढी हो। यस क्षेत्रबाट अष्ट्रेलियाका २ हजार ८९६ र न्यूजिल्यान्डका १९४ पर्यटक नेपाल आएका छन्। साथै अफ्रिकाबाट २९२ र मध्यपूर्वबाट ६७४ पर्यटकले नेपाल भ्रमण गरेका छन्।
सन्तोष विक्रम थापाका अनुसार अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, विदेशमा सञ्चालन गरिएका पर्यटन प्रवर्द्धन कार्यक्रम तथा नेपाल सुरक्षित र आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको प्रभावले पछिल्ला महिनाहरूमा पर्यटक आगमन निरन्तर बढिरहेको छ।
पर्यटन बोर्डले आगामी मुख्य पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोपलगायत प्रमुख स्रोत बजारमा थप प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
