काठमाडौं । लगातारको वर्षापछि मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीसँगै अत्यधिक धमिलो पानी प्रवेश गरेकाले काठमाडौं उपत्यकामा मेलम्चीबाट हुने खानेपानी आपूर्ति आजदेखि अस्थायी रूपमा रोकिएको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता वीरबहादुर चन्दका अनुसार मुहानको पानी अत्यधिक धमिलो भएकाले सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पानी प्रशोधन गर्न कठिनाइ उत्पन्न भएको छ। त्यसैले गुणस्तरीय खानेपानी सुनिश्चित गर्न मेलम्चीबाट आउने पानीको प्रवाह तत्कालका लागि स्थगित गरिएको हो।
उनका अनुसार मुहानको पानी सफा भएपछि प्रशोधन प्रक्रिया पुनः सञ्चालन गरिनेछ र पूर्वनिर्धारित वितरण तालिकाअनुसार उपत्यकामा खानेपानी वितरण सुरु हुनेछ।
केयुकेएलले निरन्तर वर्षा भइरहेमा पानीको गुणस्तर सुधार हुन समय लाग्न सक्ने भएकाले नियमित आपूर्ति पुनःस्थापना हुन केही दिन लाग्न सक्ने जनाएको छ। उपभोक्तालाई उपलब्ध वैकल्पिक स्रोतको प्रयोग गर्दै पानीको मितव्ययी उपयोग गर्न पनि आग्रह गरिएको छ ।