काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा संगीता पहाडी अर्याल पुनः नियुक्त भएकी छन्। विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि उनी पुनः आफ्नो जिम्मेवारीमा फर्किएकी हुन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असार २६ गते गरेको मन्त्रीस्तरीय निर्णयअनुसार अर्यालमाथिको निलम्बन हटाइएको थियो। सोही निर्णयपछि उनले औपचारिक रूपमा प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी हुन्।
पदभार ग्रहणपछि आयोजित कार्यक्रममा बोल्दै अर्यालले संस्थाको हित र राष्ट्रको सेवामा इमान्दार भएर काम गर्न कुनै कर्मचारीले डराउन नपर्ने बताइन्। आफूविरुद्ध विगतमा लगाइएका आरोप अन्ततः अदालतबाट असत्य सावित भएको उल्लेख गर्दै उनले सत्यको विजय भएको प्रतिक्रिया दिइन्।
उनले आफ्नो अनुपस्थितिमा कम्पनी सञ्चालनमा योगदान पुर्याउने व्यवस्थापन टोली र कर्मचारीप्रति आभार व्यक्त गरिन्।
आगामी दिनमा नेपाल टेलिकमलाई अझ प्रभावकारी र प्रतिस्पर्धी बनाउन प्रक्रियागत सुधारलाई प्राथमिकतामा राखिने उनको भनाइ थियो। आन्तरिक व्यवस्थापनसँगै सेवाग्राही र सरोकारवालाको अपेक्षालाई समेत ध्यानमा राखेर कम्पनीलाई अघि बढाइने प्रतिबद्धता उनले व्यक्त गरिन्।