रुकुमपश्चिमको ‘ठूली दह’ : सामाजिक सञ्जालबाट चर्चित बन्दै नयाँ पर्यटकीय गन्तव्य
त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा रहेको प्राकृतिक सम्पदा ‘ठूली दह’ पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। घना जंगलको बीचमा फैलिएको हरियाली मैदान, शान्त वातावरण र बीचमा रहेको प्राकृतिक दहका कारण यो क्षेत्र प्रकृतिप्रेमी, युवा तथा परिवारसहित घुम्न जानेहरूको आकर्षक गन्तव्य बन्दै गएको हो।
मध्यपहाडी लोकमार्गको साँख खण्डस्थित बैरी दहसम्म सवारी साधनबाट पुग्न सकिन्छ। त्यहाँबाट करिब एक घण्टाको पैदलयात्रापछि पुगिने ठूली दहमा रुकुमपश्चिम मात्र होइन, रुकुमपूर्व र आसपासका जिल्लाबाट समेत पर्यटक आउने क्रम बढिरहेको छ।
प्राकृतिक सौन्दर्यले लोभ्याउँछ
अग्ला डाँडाले घेरेको हरियो मैदानको बीचमा रहेको दह वर्षायाममा पानीले भरिँदा यसको आकर्षण झनै बढ्ने गरेको छ। नीलो आकाशको प्रतिबिम्ब दहमा देखिने दृश्यले यहाँ पुग्ने पर्यटकलाई विशेष अनुभूति दिलाउने गरेको छ।
जेठ महिनादेखि फुल्ने सेता बुकी फूलले यस क्षेत्रको सौन्दर्यलाई थप मनमोहक बनाउँछ। यही मौसममा फोटो तथा भिडियो खिच्न आउने युवाको संख्या उल्लेख्य हुने गरेको छ। सामाजिक सञ्जालमा यहाँका दृश्य व्यापक रूपमा साझा हुन थालेपछि ठूली दहको परिचय अझ फैलिएको स्थानीय बताउँछन्।
पूर्वाधार विस्तारको प्रयास
स्थानीय तहले पछिल्लो समय ठूली दहलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न संरक्षण र पूर्वाधार निर्माणमा ध्यान दिन थालेको छ। पर्यटकलाई सहज बनाउन पैदलमार्ग, विश्रामस्थल तथा प्रतीक्षालय निर्माण गरिएको छ भने वर्षायामको पानी संकलन गर्न ट्याङ्की निर्माणको काम पनि अघि बढाइएको छ। गर्मीयाममा देखिने खानेपानी अभाव समाधानका लागि थप योजना कार्यान्वयन भइरहेको वडा कार्यालयले जनाएको छ।
स्थानीय अर्थतन्त्रमा टेवा
पर्यटकको आगमन बढेसँगै स्थानीय उत्पादनको बिक्री, होटल तथा होमस्टे व्यवसाय र रोजगारीका अवसर विस्तार हुने अपेक्षा गरिएको छ। स्थानीय युवाले पनि सामाजिक सञ्जालमार्फत ठूली दहको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमा सक्रियता देखाइरहेका छन्।
चुनौती पनि उत्तिकै
पर्यटकको चहलपहल बढेसँगै फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिएको छ। पिकनिक र भ्रमणमा आउने केही समूहले प्लास्टिक तथा अन्य फोहोर जथाभावी फाल्ने गरेकाले प्राकृतिक वातावरणमा असर पर्न थालेको स्थानीयको गुनासो छ। चरिचरन क्षेत्रसमेत भएकाले यसले पशुचौपायाको स्वास्थ्यमा समेत असर पुर्याउने चिन्ता व्यक्त गरिएको छ।
यस्तै, शुद्ध खानेपानी, शौचालय, वर्षाबाट बच्ने आश्रयस्थल लगायतका आधारभूत सुविधा अझै पर्याप्त नभएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ।
सम्भावना ठूलो
प्राकृतिक सम्पदा, सहज पदयात्रा र शान्त वातावरणका कारण ठूली दहलाई कर्णाली प्रदेशकै आकर्षक आन्तरिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना देखिएको छ। संरक्षण, पूर्वाधार विस्तार र प्रभावकारी प्रचारप्रसारलाई सँगसँगै अघि बढाउन सके यसले स्थानीय पर्यटनसँगै ग्रामीण अर्थतन्त्रलाई पनि नयाँ गति दिने अपेक्षा गरिएको छ।
