मानव–वन्यजन्तु द्वन्द्व कम गर्न बाँकेमा पूर्वसूचना प्रणाली सञ्चालन
नेपालगञ्ज । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका चार गाउँमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरिएको छ। यस प्रणालीले वन्यजन्तुको गतिविधिबारे समयमै जानकारी दिएर स्थानीयवासीलाई सतर्क रहन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
वन्यजन्तुको जोखिम बढी रहेका कोहलपुर–१३ को खडगवार, राप्तीसोनारी–९ को महादेवपुर, राप्तीसोनारी–८ को बुचापुर र राप्तीसोनारी–२ को गोभारपुरमा उक्त प्रणाली जडान गरिएको जेडिएसएल नेपालका फिल्ड प्रतिनिधि कमल रेग्मीले जानकारी दिए।
उनका अनुसार हात्ती, बाघ, चितुवा र निलगाईलगायत वन्यजन्तु बस्ती नजिक आउँदा साइरनमार्फत स्थानीयलाई तत्काल सूचना पुग्ने व्यवस्था गरिएको छ। यसले सम्भावित आक्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउन सहज हुने विश्वास गरिएको छ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले वन्यजन्तुबाट हुने जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीसँगै गत असार महिनामा जिपिएस ट्र्याकिङ प्रणाली पनि सञ्चालनमा ल्याइएको बताए। उक्त प्रविधिले निकुञ्जभित्र वन्यजन्तुको गतिविधि निगरानी गर्न मद्दत गर्ने उनले उल्लेख गरे।
निकुञ्ज प्रशासनले बस्ती सुरक्षाका लागि तारबार, मेषजाली, बाख्रा सुधार तथा भकारो सुधारजस्ता कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ। यी उपायहरूले वन्यजन्तुको बस्ती प्रवेशलाई नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयवासीले लामो समयदेखि जङ्गली हात्ती तथा अन्य वन्यजन्तुको आक्रमणका कारण मानवीय क्षति र अन्नबाली नोक्सानी बेहोर्दै आएका छन्। विशेषगरी ओभरी, च्यामा, गोभारपुर र बुचापुर क्षेत्रमा हात्ती–मानव द्वन्द्व पटक–पटक दोहोरिने समस्या रहेको छ।
बुचापुर हात्तीसार केन्द्रका शालिग्राम यादवका अनुसार साइरन जडान भएपछि गाउँमा वन्यजन्तु प्रवेश गर्नेबित्तिकै स्थानीयले जानकारी पाउने गरेका छन्। समयमै सूचना प्राप्त हुँदा आवश्यक सावधानी अपनाउन सकिएको र मानवीय क्षति न्यूनीकरणमा सकारात्मक प्रभाव परेको उनले बताए।
हाल बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा नौ वटा जङ्गली हात्ती रहेको निकुञ्जले जनाएको छ। जङ्गलमा पर्याप्त आहारको अभावका कारण हात्तीलगायत वन्यजन्तु बेला–बेलामा बस्तीमा प्रवेश गर्ने गरेकाले पूर्वसूचना प्रणाली स्थानीय सुरक्षाका लागि प्रभावकारी उपायका रूपमा हेरिएको छ।
